पिच गरेको महिना नपुग्दै माझ सडकमा जब भैंसी अघाउने घाँस उम्रियो…



काठमाडौं । अनियमितताको चरम नमुना खोज्न अन्त कतै गइरहनु परेन । पूर्वको उदाउँदो सहर इटहरीको काव्यबाटीकादेखि सरस्वती स्कुल, गैसारसम्मको सडक हेरे पुग्छ ।

विश्व बैंकको अनुदान सहयोगमा बन्दै गरेको ‘उदाउदो सहर कार्यक्रम’ अन्तरगतको यो सडकको माझमा पिच गरेको महिना दिनमै भैँसी अघाउने घाँस उम्रिएको छ ।

अझ रमाइलो कुरा के छ भने यो सडकमा अहिलेसम्म एउटा पनि गाडी गुडेका छैनन् । र, ठेकेदारले उपमहानगरपालिकालाई सडक हस्तान्तरण नै गरेको छैन ।

पिच गरेको महिना नवित्दै माझ सडकमा झार पलाएपछि स्थानीयबासी निकै आक्रोसित भएका छन् । तर, गाडी नै नगुडेकाले पिचमा झार उम्रिएको ठेकेदार बताउँछन् ।

इटहरी उपमहानगरपालिकाको वडा नं ५, ६ र ७ मा पर्ने सो सडक निर्माण गर्न ९ करोड रुपैयाँ खर्च भएको थियो ।

विश्व बैंकले ६० प्रतिशत अनुदान र ३० प्रतिशत ऋण सहयोग दिएर सो सडक कालोपत्रे गरिएको थियो ।

सडकखण्ड गुणस्तरहिन भएर झार पलाएको इटहरी उपमहानगरपालिकाका कार्यकारी प्रमुख टिकादत्त राईले स्वीकार गरे ।

सडकखण्ड गुणस्तरहिन भएको गुनासो आएको र आफूहरुले चाँढै नै अनुगमन गरेर तोकिए अनुसारको मापदण्ड पूरा नभए भत्काएर पुन बनाउन लगाउने उनले बताए ।

‘काब्यबाटिकादेखि सरस्वती स्कूल, गैसारसम्मको सडकमा झार उम्रिएको गुनासो आएको छ, अनुमगन गरी गुणस्तरीय काम नभएको पाइए ठेकेदारलाई कारबाही गर्छौं र भत्काएर पुन सडक बनाउन लगाउछौं,’ उपमहानगरपालिकाका कार्यकारी प्रमुख राईले क्लिकमाण्डूसँग भने ।

सो सडकखण्ड ०७० सालदेखि निर्माण सुरु भएको हो । ठेकेदार गितान्जली र पुस्पान्जली जेभिले संयुक्तरुपमा सडक निर्माण गरेका हुन् ।

उपमहानगरपालिकाले दिएको जानकारी अनुसार सो लिंक रोड जम्मा ९ मिटर चौडाईको छ । त्यसमा ५ मिटर पिच, दुबै छेउमा २/२ मिटर एजिङ (फुटपाथ) र दुबै छेउमा १/१ मिटर नाली राख्ने सम्झौता ठेकदारले उपमहानगरपालिकासँग गरेको छ ।

निर्माण कम्पनी गितान्जलीका अयुब अन्सारी भने सो सडकमा गाडी नै नगुडेकोले झार पलाएको दाबी गर्छन् । अहिलेसम्म मान्छे नै नहिडेको र गाडी पनि नगुडेकोले झार पलाएको उनले बताए ।

‘अहिलेसम्म एउटा गाडी पनि गुडेको छैन, गाडी नगुडेपछि र मान्छे नहिडेपछि बाटोमा झार त पलाउछ नै, पहिला झार थियो, त्यसैलाई पेलेर बाटो बनायौं, त्यसैले झार पलाएको हो, यो सामान्य कुरा हो,’ अन्सारीले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु