उपभोक्ता ठगेर बिक्रेता पोस्नेगरी तय गरियो पेट्रोलियमको भाउ




काठमाडौं । पेट्रोलियम पदार्थको नयाँ मूल्य उपभोक्तालाई ठगेर विक्रेतालाई पोस्ने गरी निर्धारण गरिएको छ । आयल निगम ब्यवस्थापनले आइतवार साँझ गरेको निर्णयले उपभोक्तालाई पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५० पैसा ठगेर बिक्रेता पोस्ने काम गरिएको हो ।

काठमाडौं उपत्यकामा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १०१ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा छ । नयाँ मूल्य अनुसार एक लिटर पेट्रोल, डिजेल वा मट्टितेल खरिद गर्दा न उपभोक्ताले ५० पैसा दिन सक्छन्, न त बिक्रेताले नै सो परिमाणको रकम फिर्ता गर्न सक्छन् । किनकि नेपालमा पैसा दरको मुद्रा छैन ।

निगमले निर्धारण गरेको न्यूनतम इकाइको मूल्य (प्रतिलिटरको) दर अनुसार तोकिएकै मूल्य त्यहि न्युनतम इकाइ अर्थात एक लिटर पेट्रोलिम पदार्थ खरिद गर्र्नै सकिदैन । पेट्रोलिम पदार्थ विक्रेताले पेट्रोल प्रतिलिटर १०२ रुपैयाँमा विक्री गरिरहेका छन् ।

यस्तै डिजेल र मट्टितेल प्रतिलिटर ७८ रुपैयाँमा विक्री गरिरहेका छन् । तोकिएको मूल्यमा खरिद विक्री गर्नै नसकिने र तोकिएभन्दा बढी लिइने पैसा विक्रेताले पाउने गरी राज्यको निकायले नै कालोवजारीलाई प्रश्रय दिएको छ ।

निगमका प्रवक्ता भानुभक्त खनालले नेपालमा मासिक डिजेलको १० करोड ५० लाख लिटर र पेट्रोलको मासिक ४ करोड २० लाख लिटरसम्म खपत रहेको जानकारी दिए ।

निगमले दिएको यो तथ्यांक अनुसार यसरी खपत हुने सवै डिजेलमा प्रतिलिटर ५० पैसाको दरले बढी मूल्यमा विक्री गर्ने हो भने मासिक ५ करोड २५ लाख रुपैयाँ बढी रकम जम्मा हुन्छ । जुन, उपभोक्तासँग उठाइएको अबैध रकम हो ।

यस्तै पेट्रोलमा प्रतिलिटर ५० पैसाको दरले बढी मूल्यमा विक्री गर्दा मासिक २ करोड १० लाख रुपैयाँ बढी रकम जम्मा हुन्छ । यो रकम पनि उपभोक्तासँग तोकिएभन्दा बढी उठाइएको रकम हो ।

यो दुबै गरेर प्रतिलिटर ५० पैसा बढी रकम उठाउदा मासिक ७ करोड ३५ लाख रुपैयाँ अबैध रुपमा उठ्छ । यसरी बढी पैसा उठाउने प्रयोजनको लागि नै पैसामा मूल्य तय गरिएको हो ।

निगम प्रवक्ता खनाल भने बढी रकम उठ्छ भन्नेतिर आफूहरुको ध्यान नगएको दाबी गर्छन् । पैसामा मूल्य राख्दा कारोबार गर्न अप्ठेरो हुन्छ भन्ने आफूहरुले अनुमान नै नगरेको उनको भनाइ छ ।

‘तपाइले भनेपछि मलाई पनि यो कुरा सही हो भन्ने लाग्यो, ५० पैसा दरको मुद्रा छैन, यो दरमा कारोबार गर्न सकिन्न, अबदेखि यस्ता विषयमा सुधार गर्छाैं,’ खनालले क्लिकमाण्डूसँग भने ।

पेट्रोलियम पदार्थको विक्री वितरण गर्ने पेट्रोलियम डिलर्स एसोसिएसनले पनि निगमले निर्धारण गरेको मूल्यप्रति असहमति जनाएको छ । ५० पैसाको मुद्रा नभएकोले बिक्री गर्न अप्ठेरो भएकोले सो दरमा विक्री गर्न ५० पैसा दरको मुद्रा उपलब्ध गराइ दिन निगमसँग माग गर्न लागिएको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘कुनै उपभोक्ताले १ लिटर मात्रै पेट्रोल किन्यो भने न उसले ५० पैसा दिन सक्छ, न मैले नै ५० पैसा फिर्ता गर्न सक्छु, यसले हामीलाई कारोबार गर्न अप्ठेरो भयो, राज्यले ५० पैसा दरको मुद्रा निस्कासन गरेको छैन, यसैले ५० पैसा दरको मुद्रा उपलब्ध गराइदिन निगम मार्फत राज्यसँग माग गर्दै भोलि पत्राचार गर्दैछौं,’ अध्यक्ष प्रधानले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु