समस्याग्रस्त संस्था किन्ने लगानीकर्ता भन्छन्, ८ अर्ब पुँजी पुर्याउन तयार छौं



काठमाडौं । के तपाईसँग समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुको सेयर छ ? छ भने तपाइलाई खुसीको खबर छ । एकपटक सबैको पालो आउँछ भने झै समस्याग्रस्त घोषणा गरिएका बैंक तथा वित्तीय संस्था अब प्रतिस्पर्धी बनेर पुनः संचालनमा आउन लागेका छन् ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका अधिकांस बैंक तथा वित्तीय संस्थाहरु नयाँ समुहले किनिसकेका छन् । पहिलाका लगानीकर्ताले संस्थालाई राम्रोसँग चलाउन नसकेको, नखोजेको वा नचाहेको पाइएपछि राष्ट्र बैंकले पनि नयाँ लगानीकर्तालाई यस्ता संस्था खरिद गर्न प्रोत्साहन नै गरिरहेको छ ।

अझ रोचक कुरा त के छ भने समस्याग्रस्त बैंक तथा वित्तीय संस्था खरिद गर्ने नयाँ समुह लगानी थप गरेर विकास बैंकभए बाणिज्य बैंक र फाइनान्स कम्पनी भए राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्र बैंकसमक्ष गरिरहेका छनु ।

नयाँ लगानीकर्ताको समुहले हकप्रद सेयर जारी गरेर पुँजी बढाउने योजना राष्ट्र बैंकमा बुझाइसकेका छन् ।

‘घरजग्गाको भाउ बढेपछि राम्रै व्यापारिक समूह समस्याग्रस्त संस्था किन्न आकर्षित भएका छन्, उनीहरुले स्तरोन्नति गरी वाणिज्य बैंक बनाउने गरी पैसा हाल्छौं भनिरहेका छन्,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

समस्याग्रस्त घोषणा गरिएका अधिकांस संस्थाहरु संस्थागत सुशासनको अभाव र घरजग्गामा भएको अधिक लगानीका कारण समस्यामा परेका थिए ।

अहिले घरजग्गाको भाउ बढेपछि नयाँ लगानीकर्ताहरु समस्याग्रस्त संस्था किन्न आकर्षित भएको शिवाकोटीको भनाई छ । किनभने समस्याग्रस्त संस्थाको गैरबैंकिंङ्ग सम्पत्तिको रुपमा रहेको घरजग्गाको भाउ बढेको छ ।

हाल १० वटा संस्थाहरु समस्याग्रस्तको सूचीमा छन् । राष्ट्र बैंकले समस्याग्रस्त संस्थाका प्रवद्र्धकहरुलाई बोलाएर सुध्रिन वा नयाँ लगानी थप्न निरन्तर दबाब दिइरहेको छ । समस्याग्रस्त गोर्खा विकास बैंक काठमाडौं फाइनान्सले अक्वायर गरेर गोर्खा फाइनान्स भइसकेको छ । यस्तै केही साता अगाडि मात्रै जनरल फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्तको सुचीबाट हटाएको छ ।

महिना दिनअघि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले ब्यवस्थापिका संसदको अर्थ समितिमा अब धेरै समय समस्याग्रस्त संस्थाहरु नरहने जानकारी गराइसकेका थिए ।

राष्ट्र बैंकको समस्याग्रस्त संस्था हेर्ने विभागका प्रमुख झलक शर्माका अनुसार आगामी ३ महिनाभित्र समस्याग्रस्त भन्ने संस्था नै हुने छैनन् ।

‘आगामी ३ महिनाभित्र समस्याग्रस्त अवस्थामा रहेका संस्थाहरुलाई कि त नयाँ लगानीकर्ताको समूहले किनिसकेका हुनेछन् कि त लिक्विडेसनमा लगिसकिएको हुनेछ,’ शर्माले क्लिकमाण्डूसँग भने ।

शर्माका अनुसार नयाँ लगानीकर्ताहरु आफुहरु ८ अर्ब रुपैयाँ पुँजी पुर्याउन तयार हरेको बताउँदै राष्ट बैंकलाई कन्भिन्स गर्न लागिरहेका छन् । तर, पैसाले मात्रै बैंक फाइनान्स नचल्ने भन्दै राष्ट्र बैंकका अधिकारीहरुले केही वर्षभित्रै वाणिज्य बैंकमा स्तरोन्नति नगर्न सुझाइरहेका छन् ।

समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुप्रति नयाँ लगानीकर्ता आकर्षित हुनुमा विषेश गरेर २ कारण रहेको देखिएको छ । पहिलो कारण पछिल्लो समय घरजग्गाको मूल्यमा भएको अधिक बृद्धि हो । जुन, कुरा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पनि बताउने गरेका छन् ।

दोस्रो कारण राष्ट्र बैंकले लिएको लाइसेन्सिङ्ग नीतिले पनि हो । अहिले लघुवित्त बाहेक बैंक, विकास बैंक वा फाइनान्स कम्पनी नयाँ संचालन गर्नको लागि राष्ट्र बैंकले अनुमति दिदैन । यसरी लाइसेन्स बन्द गरिएको ८ बर्ष भन्दा लामो समय भइसकेको छ ।

यसविचमा बैंकिङ ब्यवसाय संचालन गर्न चाहने लगानीकर्ताको समुह ठूलो बनिसकेको छ । तर नयाँ इजाजत नपाइने भएपछि उनीहरु यो क्षेत्रमा पस्ने ठाउ नै छैन भन्दा पनि हुन्छ । राम्रैसँग चलेका बैंक वित्तीय संस्थाले मेजोरिटी प्रमोटर सेयर विक्री गर्ने कुरा भएन । अनि उनीहरुले समस्याग्रस्त संस्था खरिद गरेर बैंकिङ ब्यवसायमा पस्ने बाटो रोजेका हुन् ।

समस्याग्रस्त अवस्थामा रहेको जनरल फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गतहप्ता मात्रै समस्याग्रस्तको सूचीबाट हटायो । नयाँ लगानीकर्ताको समूहले फाइनान्समा लगानी गरी सञ्चालन गर्ने चित्तबुझ्नो कार्ययोजना पेश गरेपछि जनरललाई समस्याग्रस्तको सूचीबाट हटाएको हो ।

०५२ सालदेखि सञ्चालनमा रहेको जनरल फाइनान्सलाई राष्ट्र बैंकले ०७० जेठ १२ गते समस्याग्रस्त घोषण गरेको थियो ।

घरजग्गामा अत्यधिक लगानी र संस्थागत सुशासन अत्यन्तै कमजोर भएपछि संस्था समस्याग्रस्त बनेको हो । कम्पनीले गुड फर पेमेन्टमा पनि मोटो रकम डुबाएको थियो।

यद्यपि यो कम्पनी समस्याग्रस्तको सूचीमा रहेका कम्पनीमध्ये सबैभन्दा राम्रो वित्तीय अवस्था भएको कम्पनी हो ।

जनरल फाइनान्स कतारमा रहेका एनआरएनहरुको समूहले किनेको हो । रेमिट्यान्स सेवा प्रदायक कम्पनी बेस्ट होल्डिङसँग आवद्ध एनआरएनहरुले यो कम्पनीको सेयर स्वामित्व किनेका हुन् । नयाँ लगानीकर्ताको समूह भित्रिएपछि यो संस्थाको अध्यक्ष पत्रकार पदमराज न्यौपाने बनेका छन् ।

रोविन्द्र श्रेष्ठको समूहले ०७१ चैत ५ गते कम्पनीका तत्कालीन सेयरधनीहरुसँग सेयर खरिद गर्ने सम्झौता गरेका थिए । दुई वर्षदेखि यो कम्पनीको वित्तीय अवस्थाको बारेमा अध्ययन गरेर किन्ने निर्णयमा पुगेको एक सञ्चालकले क्लिकमाण्डूलाई बताए ।

जनरल फाइनान्स त नयाँ लगानीकर्ताको समूह आएर सञ्चालन नै भइसकेको उदाहारण मात्रै हो ।

जनरल फाइनान्सकै उदाहारण लिने हो भने पनि समस्याग्रस्त संस्थाक सेयरधनीलाई कसरी फाइदा हुन्छ भनेर बुझ्न सकिन्छ ।

हाल जनरलको चुक्ता पुँजी १३ करोड २२ लाख २८ हजार रुपैयाँ छ । राष्ट्र बैंकको नीति अनुनसार ०७४ असार मसान्तसम्ममा फाइनान्स कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । नयाँ लगननीकर्ताले पहिलो चरणमा हकप्रद सेयरमार्फत चुक्ता पुँजी बढाउने प्रस्ताब गरेका छन् ।

राष्ट्र बैंकमा ३ बराबर २ को अनुपातमा हकप्रद सेयर दिने प्रस्ताब गरेपनि पछिल्लो समय १ बराबर १ को अनुपातमा दिने तयारी भइरहेको छ । पुँजी बढाउनका लागि दोस्रो चरणमा मर्जर र एक्वारमा जाने तयारी भइरहेको छ ।

कुन समस्याग्रस्त संस्था कसले किन्दैछन् ?

क्यापिटल मर्चेन्ट एन्ड बैकिङ फाइनान्स किन्न स्थापित ब्यापारिक घरानासहितको एक समूहले बैंकमा ३ करोड रुपैयाँभन्दा बढी जम्मा गरिसकेको छ । प्रतिकित्ता २० रुपैयाँका दरले किन्नका लागि सैद्दान्तिक सहमति भइसकेको छ ।

वर्ड मर्चेन्ट लिलाम बिक्रीबाट प्रमोटर सेयर बिक्री गर्ने मेडिकल समूहका भेषराज लोहोनीलगायतको समूहले ३५ रुपैयाँमा किन्दैछ । तर यो समूहलाई राष्ट बैंकले कम्तीमा २ जना वित्तीय क्षेत्रकै मान्छे हनुपर्ने भनेको छ ।

नारायणी डेभलपमेन्ट बैंकलाई दिब्यकुमार श्रेष्ठलगायतको समूहले किन्ने प्रक्रिया अघि बढाइसकेको छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर नयाँ लगानीकर्ताको समूहको नाममा नामसारीको प्रक्रियामा छ । बीरगञ्जका माडबारी समहूले यो प्रतिकित्ता ५० रुपैयाँका दरमा संस्था किन्दैछन् ।

ललितपुर फाइनान्समा नयाँ लगानीकर्ताको समूहले ४ करोड रुपैयाँ हालिसकेका छन् । राष्ट्र बैंकले भनेका सबै सर्तहरु नयाँ समूहले पुरा गरिसकेको छ । त्यसैगरी अरुण फाइनान्समा सोही समूहका लगानीकर्ताले लगानी थप गर्ने प्रक्रिया अघि बढाइसकेका छन् ।

त्यसैगरी, समस्याग्रस्त नेपाल फाइनान्सलाई गत हप्ता मात्रै राष्ट बैंकले नियन्त्रणमा लिएको छ । राष्ट बैंकले समस्याग्रस्त संस्था हेर्ने विभागका प्रमुख झलक शर्मा छन् । यो कम्पनीमा घरजग्गा व्यवसायी सुधीर बस्नेत समूहको हो । यो संस्था त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुसहितको समूहले खरिद गर्न लागेको हो । राष्ट्र बैंकको व्यवस्थापनले केहीदिनभित्रै सेयर लिलामीको सूचना निकाल्ने तयारी गरिहरहेको शर्माले बताए ।

समस्याग्रस्त वित्तीय संस्थामध्ये गोर्खा विकास बैंक काठमाडौं फाइनान्नसँग मर्ज भई कारोबार सुरु गरिसकेको छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका बारेमा अदालतमा मुद्दा बिचाराधीन अवस्थामा रहेकाले यसबारे भने राष्ट बैंकले तत्कल ठोस कदम चाल्न सक्ने अवस्था छैन ।

समस्याग्रस्त वित्तीय संस्थाहरूबाट सर्वसाधारणले करिब ९ अर्ब रुपैयाँ निक्षेप फिर्ता पाएका छन् भने ६ अर्ब निछेप अझै फिर्ता हुन सकेको छैन । समस्याग्रस्त घोषणा हुँदा ती संस्थाको कुल निक्षेप १५ अर्ब ९० करोड ९७ लाख रुपैयाँ रहेकोमा गत असोजसम्म त्यो घटेर ५ अर्ब ९३ करोड ५९ लाख रुपैयाँमा झरेको छ ।

यस्तै, समस्याग्रस्त हुँदा कुल कर्जा १९ अर्ब ९ करोड ९२ लाख रुपैयाँ रहेको थियो । गत असोजसम्म यो घटेर ८ अर्ब १९ करोड ६६ लाख रुपैयाँमा झरेको छ । हालसम्म राष्ट्र बैंकले हालसम्म १६ वटा कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको छ । त्यसमध्ये ३ वटा नेपाल विकास बैंक, सम्झना फाइनान्स र युनाइटेड फाइनान्सलाई खारेज गरिसकेको छ । थप २ वटा संस्था क्रिष्टल फाइनान्स र हिमालय फाइनान्सलाई खारेजीको प्रक्रियामा छन् । समस्याग्रस्त घोषण गरिएका संस्थाहरुमध्ये १० वटा वित्त कम्पनी र २ वटा विकास बैंक छन् ।

समस्याग्रस्त   संस्था समस्याग्रस्त घोषणा भएको मिति
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स ०६८ पुस २८ गते
क्यापिटल मर्चेण्ट एण्ड बैकिङ फाइनान्स  ०६९ माघ १७ गते
कुवेर मर्चेण्ट फाइनान्स
समस्याग्रस्त
०६९ पुस २३ गते
वल्र्ड मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्स ०७० वैशाख १३ गते
नेपाल फाइनान्स ०७१ मंसिर १७ गते
अरुण फाइनान्स ०७१ माघ १२ गते
ललितपुर फाइनान्स ०७१ चैत १६ गते
नारायणी डेभलपमेण्ट बैंक ०७० चैत २७ गते
कर्पोरेट डेभलपमेण्ट बैंक ०७१ पुस ४ गते
हिमालय फाइनान्स ०६९ असार
क्रिष्टल फाइनान्स ०६७ चैत


पुष्प दुलाल