भारुबारे कुरा गर्न जान लागेको टोलीलाई भारतले भन्यो-किन आउनु पर्‍यो ?




काठमाडौं । नेपालमा भएका ठूला दरका भारतीय नोट सटहीका विषयमा कुरा गर्न भारत जान लागेको नेपाली टोलीलाई भारतले आउनु पर्दैन भन्ने जवाफ पठाएको छ ।

भारतको यो जवाफसँगै नेपालमा भएका ५०० र १००० दरका भारु नोट सटही गर्ने विषय अझै अन्योलमा नै देखिएको छ ।

अर्थ मन्त्रालयले पाँच दिनअघि राष्ट्र बैंकका डेपुटी गभर्नर  चिन्तामणि शिवाकोटीको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको थियो । जुन टोलीलाई भारतको अर्थ मन्त्रालयसँग नेपालमा भएका ठूला दरका भारु साट्ने विषयमा कुरा गर्ने अख्तियारी सहित भारत पठाउने भनिएको थियो ।

तर, भारतीय पक्षले यस विषयमा कुरा गर्नका लागि समय नै दिन मानेको छैन ।

‘हामीले पटक–पटक विभिन्न चरणमा भारु सटहीबारे भारतको वित्त मन्त्रालयसँग कुरा ग¥यौं, उताबाट कुनै रेस्पोन्स आएन, त्यपछि हामीले यस विषयमा कुरा गर्न जानका लागि डेपुटी गभर्नरको संयोजकत्वको टोली गठन ग¥यौं, तर, भारतीय दूताबाससले किन जानु ? हामीले पहल गरिरहेका छौं भनेर जवाफ दिएको छ,’ अर्थ मन्त्रालयको उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

शिवाकोटी संयोजकत्वको टोलीमा अर्थ मन्त्रालयका सहसचिव आनन्द ढकाल, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना, परराष्ट्र मन्त्रालयका सहसचिव र एक विज्ञको टोली गठन गरिएको थियो ।

स्रोतकाअनुसार भारतको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुको समय मिलाउनका लागि २ दिनअघि नेपालस्थित भारतीय दूताबास र भारतस्थित नेपाली दूताबासलाई भनिएको थियो ।

‘उनीहरुले समय मिलाउनुको साटो भारत गइरहनुपर्ने आवश्यता छैन भन्ने जवाफ पो दिए,’ स्रोतले भन्यो ।

भारतीको वित्त मन्त्रालयका अधिकारीहरुले पनि नेपाली समकक्षीसँग टेलिफोनमा कुरा गर्दै आफूहरुले नेपालमा रहेका भारतीय नोट साट्ने विषयमा सकरात्मक पहल गरिरहेको तर यो विषय अब प्रधानमन्त्री नरेन्द्र मोदीले मात्रै सम्बोधन गर्नसक्ने जवाफ दिएका अर्थमन्त्रालय स्रोतको भनाइ छ ।

भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक २३ गते साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै ५०० र १००० दरका भारु नोट नचल्ने घोषणा गरेका थिए । सो घोषणाले भारतमा मात्रै होइन, नेपालमा पनि ठूलो प्रभाब परेको हो ।

प्रचण्डले मोदीलाई फोन गरे

भारतले ५०० र १००० दरका भारतीय नोट अबैध घोषणा गरेपछि त्यसको ठूलो असर नेपालमा पनि परेको भन्दै प्रधानमन्त्री प्रचण्डले करिब ३ हप्ताअघि समकक्षी नरेन्द्र मोदीलाई पनि फोन गरेर नेपालमा भएको नोट साट्न आग्रह गरिसकेका छन् । टेलिफोन वार्तामा मोदीले नेपालमा रहेका नोट साट्ने व्यवस्था मिलाउन सकारात्मक पहल गर्ने आवश्वासन प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए ।

अर्थमन्त्री महराले पनि समकक्षीलाई फोन गरे

त्यसैगरी उप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि भारतीय वित्त मन्त्री अरुण जेट्लीलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गरिसकेका छन् । अर्थमन्त्री महराले गत कात्तिक २९ गते पहिलोपटक आफ्ना समकक्षीलाई फोन गरेका थिए । त्यसपछि उनले पनि केही पटक फोन गरिसकेका छन् । वित्तमन्त्री जेट्लीले पनि सकारात्मक पहल गर्ने आवश्वास दिएपनि सकारात्मक परिणम निस्केको छैन ।

गभर्नर डा. नेपालले गभर्नर पटेलसँग धेरैपटक कुरा गरे

त्यसैगरी, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेललाई धेरै पटक टेलिफोन गरि समस्या समाधानका लागि आग्रह गरिसकेका छन् । गभर्नर डा. नेपालको आग्रहपछि रिजर्भ बैंक अफ इण्डियाले सकरात्मक पहल गरिदिन सिफारिस गर्दै वित्त मन्त्रालयलाई पत्राचार पनि गरिसकेको छ । वित्त मन्त्रालयमा पनि यो विषयमा धेरैपटक छलफल भयो । तर, अहिले उसले प्रधानमन्त्रीको कार्यालयले मात्रै जवाफ दिनसक्ने भन्दै तर्किएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।


क्लिकमान्डु