विकास आयोजनाले समयमै दाबी नगर्दा दाताले दिन्छु भनेको साढे ३० करोड अनुदान डुब्यो



काठमाडौं । विकास आयोजना प्रमुखहरु गैरजिम्मेवार बन्दा दातृ निकायले नेपाललाई दिन्छु भनेको अनुदान सहयोग पनि गुम्ने गरेको छ ।

आयोजनाहरुले दातृ निकायसँग समयमै दाबी नगरेको कारण साढे ३० करोड रुपैयाँ अनुदान गुमेको छ । आयोजनाले खर्चको विवरण समयमै पेश नगरेको कारण सो अनुदान रकम गुमेको हो ।

महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार बन्द भइसकेका आयोजनाहरुमा मात्रै ३० करोड ५६ लाख रुपैयाँ अनुदान रकम अब नआउने भएको छ ।

आयोजना प्रमुखहरु जिम्मेबार नबन्दा यस्तो समस्या आएको अर्थसचिब डा. शान्तराज सुबेदीले जानकारी दिए ।

सरकारले अबदेखि समयमै शोधभर्ना नलिने आयोजनाको बजेट निकासा रोक्का गर्ने र अन्य कारबाहीको लागि सम्बन्धित मन्त्रायललाई लेखी पठाउने काम भइरहेको उनले जानकारी दिए ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सबैभन्दा धेरै अनुदान रकम दोस्रो उच्च शिक्षा आयोजनाबाट गुमेको छ । सो आयोजनाको लागि विश्व बैंक अन्तरगतको आइडिएले दिने भनेको अनुदान रकममध्येमा १७ करोड ४९ लाख २३ हजार रुपैयाँ अनुदान रकम अब नआउने पक्का जस्तै भएको छ । सो आयोजना बन्द भइसकेको छ ।

यस्तै कण्ठरोग नियन्त्रण आयोजनाको ३ करोड रुपैयाँ गुमेको छ । सो आयोजनाको लागि भारतले दिन्छु भनेकोमध्येमा ३ करोड रुपैयाँ गुमेको हो । सो आयोजना पनि बन्द भइसकेको छ ।

डिप तथा स्यालो टुबेल आयोजनाको लागि दातृ निकायले दिन्छु भनेको २ करोड ५७ लाख ११ हजार रुपैयाँ पनि डुबेको छ । भारत सरकारले नै दिन्छु भनेको अनुदान रकम समयमै दाबी भुक्तानी नलिएका कारण डुबेको हो । सो आयोजना पनि बन्द भइसकेको छ ।

यस्तै सडक सन्जाल विकास आयोजना चौथो सडक सुधारको १ करोड ४८ लाख ५० हजार रुपैयाँ पनि डुबेको छ । डिएफआइडीको अनुदान सहयोगबापतको सो रकम समयमै दाबी नगरेको कारण डुबेको हो ।


क्लिकमान्डु