खर्च गर्न असफल तर राजस्व उठाउन सफल



काठमाडौं । विकास खर्च गर्न नसकेपनि सरकार राजस्व उठाउन भने सफल भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा २ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ६५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

एकल खाता प्रणाली लागु गरेको हिसाब महालेखा नियन्त्रक कार्यालयले राजस्व संकलनको हिसाब निकालेको हो । यद्यपि कतिपय क्षेत्रमा सो लागु नभएको हुँदा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा यो वर्षमा उठाउनुपर्ने ४९.२१ प्रतिशत राजस्व संकलन भएको देखिन्छ । यस आधारमा भन्दा सरकार राजस्व उठाउन पूर्ण रुपमा सफल भएको देखिन्छ ।

सरकारले गर्ने राजस्व संकलन र खर्चको आधारमा अर्थतन्त्र चलायमान हुने गर्छ । तर,सरकारले राजस्व उठाउने मात्र गरेको र खर्च नगरेको कारण बजारमा पैसाको अभाव भने व्यापक बढेको छ ।

बैंकर्स संघका अध्यक्ष अनिल शाह सरकारले राजस्व संकलन मात्र गरेको खर्च नगरेको कारण अहिले वित्तीय प्रणालीमा समस्या भएको बताए ।

‘हामीले व्यक्तिलाई पैसा घरमा होइन बैंकमा राख्नुहोस् भनेका हुन्छौं, सरकारले अहिले पैसा आफ्नो ढुकुटीमा लगेर जम्मा गरेको छ,’ शाहले भने ।

अर्थ मन्त्रालयले केही दिनभित्रमा शिर्षकगत राजस्वको समिक्षा गर्ने छ । बढ्दो आयातको तथ्यांक हेर्दा राजस्व भन्सार, मुल्य अभिवृद्धि कर तथा आयकरबाट बढेको देखिन्छ ।

त्यसैगरी, गैरकर अन्तर्गत पर्ने मालपोत दस्तुरबाट पनि सरकारलाई लक्ष्यभन्दा बढी आम्दानी भएको छ ।


पुष्प दुलाल