शनिबारदेखि टेलिकमको प्रिपेडमा पनि फोरजी सेवा, आईफोनमा भने मार्चपछि मात्रै




काठमाडौं । नेपाल टेलिकमले शुरु गरेको फोरजी एलटिई प्रविधि शनिबार (भोलि) देखि प्रिपेड मोबाइलमा पनि शुरु हुने भएको छ । कम्पनीले माघ २२ गते आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रिपेड प्रयोगकर्ताहरुका लागि पनि फोरजी प्रविधि शुरु गरेको घोषणा गर्ने भएको छ ।

टेलिकमले पुसमा नेपालमा पहिलो पटक फोरजी सेवा पोष्टपेड मोबाइल यूजर्सका लागि शुरु गरेको थियो भने अब प्रिपेड ग्राहकहरुले पनि यो सेवा प्रयोग गर्न पाउने भएका हुन् ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले हाल पोष्टपेडमा ५० हजार ग्राहकहरुले यो सेवा लिईरहेको क्लिकमाण्डुलाई जानकारी दिईन् ।

‘फोरजी चलाउन यू सिम, फोरजी फोनसेट र प्रयोगकर्ता काठमाडौं वा पोखरा क्षेत्रमा बसेको हुनुपर्दछ,’ उनले भनिन ।

हाल पोष्टपेडमा मात्र उपलब्ध यो प्रविधिको प्रयोगकर्ता क्षमता ३ लाख ५० हजारसम्म रहेको छ ।

टेलिकमले प्रिपेडमा पनि यो प्रविधि शुरु गरेपछि यसको प्रयोगकर्ता दोब्बर हुने अनुमान गरिएको छ । तर कम्पनीले आफ्नो क्षमतालाई बढाउँदै जाने र सेवाको गुणस्तरमा पनि कुनै फरक नपर्ने दाबी गरेको छ ।

‘हामी प्रयोगकर्ताको संख्या बढेसँगै गुणस्तरमा पनि ध्यान दिनेछौं,’ प्रवक्ता वैद्यले भनिन् ।

त्यसैगरी फोरजीसँगै आईफोनमा यो प्रविधि प्रयोग हुन नसकेको बारेमा भने उनले कुनै आईफोनहरुमा भने फोरजी चलेको भेटिएको जानकारी दिईन् ।

‘आईफोनको कुनै मोडलहरुमा फोरजी चलेको भेटेका छौं, चीनको लागि भनिएको आइफोनमा फोरजी चलेको पाइयो,’ उनले भनिन् ।

हाल आइफोनका सिक्स र सेभेनका भर्सनमा फोरजी प्रविधि चलाउन समस्या छ । तर आइफोन फाइभसम्मका सेटहरुमा भने कुनै समस्या छैन् ।

बैद्यका अनुसार कम्पनीसँग कुराकानी भएको र सफ्टवेयरको अपडेटसँगै यसको समस्या समाधान हुनेछ ।

आईफोनको नेपालमा आधिकारिक प्रतिनिधी जेनेरेसन नेक्स्टका पवन भिमसरियाले टेलिकमले अझै पनि आवश्यक कागतपत्र एप्पललाई नपठाउँदा समस्या भएको बताए ।

‘टेलिकलाई नन डिस्क्लोजर एग्रिमेन्ट गरेर पठाउ भनेर एप्पलले भनेको तर अझै मानेको छैन्, एप्पलले नेपाली आइफोन यूजर्सको डाटाको गोपनीयता चाहेको छ,’ भिमसरियाले भने ।

सरकारी कम्पनी भएको हुँदा सरकारले मागेमा ग्राहकहरुको सबै जानकारी दिनुपर्ने भन्दै टेलिकमले सम्झौता गर्न आनाकानी गरिरहेको उनको दाबी छ ।

नेपालस्थित आइफोनको आधिकारिक बितरकका अनुसार हाल करिब ७० हजारले आइफोन सिक्स र सेभेन संस्करण प्रयोग गरिरहेका छन् ।


क्लिकमान्डु