सेनाको काममा संसद सन्तुष्ट, भन्यो- सडक निर्माणका लागि १५ दिनभित्रै बजेट देउ




काठमाडौं । सडक निर्माणमा नेपाली सेनाको काम सन्तोषजनक रहेको संसदको विकास समितिले निष्कर्श निकालेको छ । सेनाले गरेको कार्यप्रगति हेर्न आइतबार बसेको विकास समितिको बैठकले सेनाले जिम्मा लिएका सडकहरुको प्रगति सन्तोषजनक रहेको निष्कर्श निकालेको हो ।

सेनालाई काम गर्ने वातावरण बनाइदिन सरोकारवाला सबैलाई विकास समितिले निर्देशनसमेत दिएको छ ।

‘चालू आर्थिक वर्षभित्र सेनालाई निर्माणको जिम्मा दिइएका सडकका लागि १५ दिन भित्र बजेट उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयलाई निर्देशन दिएका छौं,’ समितिका सभापति रविन्द्र अधिकारीले भने ।
सेनाले कर्णाली करिडोर, डोल्पा-दुनै सडकखण्ड, मैलुङ-स्याफ्रुबेसी, कालिगण्डकी करिडोरको गुल्मी-बागलुङलगायतका सडकमा भएको प्रगति प्रभावकारी देखिएको अधिकारीले बताए ।

सेनाले निर्माण गर्ने अख्तियारी पाएको गोरखाको बेनिघाट-आरुघाट-लार्केभन्ज्याङ् सडकखण्ड निर्माणका लागि आवश्यक प्रक्रिया छिटो स्वीकृत गर्न तथा बजेट निकासा तुरुन्तै उपलब्ध गराउन समिति राष्ट्रिय योजना आयोगसहित उल्लेखित मन्त्रालयहरुलाई निर्देश दिएको छ ।

सडकको पहुँच विस्ता हुँदा आर्थिक विकासमा गतिशीलता सिर्जना हुने समितिको ठहर छ । नेपालमा सबै किसिमका गरेर ५२ हजार सडक सञ्जाल छन् ।


पुष्प दुलाल