लगानीकर्तालाई कुन बैंकले कति प्रतिफल दिन्छन् ?



काठमाडौं । तपाई बैंकहरुको सेयर किन्ने बिचारमा हुनुहुन्छ तर कुन बैंकको किन्ने भनेर अलमलिइरहनु भएको छ ? यदि छ भने तपाईँका लागि यो रिपोर्ट सहयोगी बन्न सक्छ ।

बैंकहरुले लगानीकर्ताको सम्पत्तिमाथि कति प्रतिफल दिइरहेका छन् भन्ने सूचकले कुन संस्थाको सेयर किन्ने भन्ने निर्णय गर्नमा तपाईँलाई पक्कैपनि मद्दत गर्छ ।

नेपालको सेयर बजारमा बाणिज्य बैंकहरुको हिस्सा बजार पूँजीकरण र संख्या दुवैका हिसाबले धेरै छ । २८ वटा बाणिज्य बैंक रहेको नेपाली सेयर बजारमा कुन बैंकको सेयर किनौं भनेर लगानीकर्ता अलमलिनु स्वभाविकै हो ।

एउटै क्षेत्र अनि मूल्यसमेत उस्तै-उस्तै (करिब १००/२०० रुपैंयाको मात्र फरक) भएको अवस्थामा त झन लगानीकर्ताले निर्णय नै गर्न नसक्ने अवस्था छ । त्यसैले आम लगानीकर्ताहरुलाई सेयर किन्ने निर्णय गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो ।

रिटर्न अफ इक्वीटी भनेको व्यवस्थापनको कुल सम्पत्ति र दायित्वबीचको फरकलाई नाफामा बदल्न सक्ने क्षमता मापन गर्ने सूचक हो । सामान्यतया यो सूचक १५-२० प्रतिशत भएको कम्पनीलाइ राम्रो मानिन्छ ।

कुनको सेयर किन्ने भनेर अलमलिरहेका लगानीकर्ताहरुका लागि बैंकहरुको रिटर्न अफ इक्वीटी (आरओई) सूचक निकै महत्वपूर्ण हुन्छ । आरओई बिशेषत उही क्षेत्रका कम्पनीहरुको वित्तीय प्रर्दशन तुलना गर्नका लागि प्रयोग हुने सूचक हो ।

रिटर्न अफ इक्वीटी भनेको व्यवस्थापनको कुल सम्पत्ति र दायित्वबीचको फरकलाई नाफामा बदल्न सक्ने क्षमता मापन गर्ने सूचक हो । सामान्यतया यो सूचक १५-२० प्रतिशत भएको कम्पनीलाइ राम्रो मानिन्छ ।

नेपालका बाणिज्य बैंकहरुको पूँजी ४ गुणा बढेको परिपेक्षमा त झन् आरओई तत्कालीन लगानीको लागि मात्र नभएर दीर्घकालीन लगानीको लागि समेत निकै सहयोगी सूचक हो । आफ्नो बढेको पूँजी (इक्विटी) लाई नाफामा बदल्न सक्ने बढी क्षमता भएका बैंकमा लगानी गर्नु नै बाणिज्य बैंकका लगानीकर्ताका लागि सबैभन्दा फाइदाजनक लगानी मन्त्र हो ।

त्यसैले यहाँ लगानीकर्तालाई निर्णय गर्न सजिलो होस भनेर नेपालका बाणिज्य बैंकहरुको बिगत ५ बर्षदेखि चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको आरओई प्रस्तुत गरिएको छ ।

०७३ पुस मसान्तमा सबैभन्दा बढी आरओई सरकारी बैंक नेपाल बैंकको छ । सो बैंकले सेयरधनीको कुल सम्पत्ती (बुक भ्यालुका हिसाबले) को ५५.३९ प्रतिशतलाई नाफामा बदल्न सकेको छ ।

त्यसैगरी सबैभन्दा कम आरओई सिभिल बैंकको छ । सो बैंकले सेयरधनीको कुल सम्पत्तीको ५.७३ प्रतिशत मात्र नाफमा बदलेको छ ।

बिग्रेका संस्थाहरुलाई खरिद गरी निरन्तर प्रगति गर्दै अघि बढेको प्रभु बैंक धेरै आरओई भएका बैंकहरुको सूचीमा दोस्रो स्थानमा छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षमा १६.७२ प्रतिशतमा रहेको आरओईमा सुधार ल्याई १९.४६ पुर्याएको छ । गत असारमा एफपिओको माध्यमबाट करिब ४ अर्ब रुपैंयाँ सम्पत्ती एकैपटक बढाएका कारण आरओई घटेको थियो ।

सानिमा बैंकले ५ बर्षदेखि गत असारसम्म निरन्तर आफ्नो आरओइ बृद्धि गर्दै आएको छ । हकप्रद सेयरका कारण यस आर्थिक बर्षको दास्रो त्रैमासमा घटेका आरओइलाई आगामी दिनमा पनि बैंकले बढाउँदै लान सके लगानीकर्ताको लागि आकर्षक लगानी हुन सक्छ, यो बैंक ।

सिटिजन्स बैंक पनि आरओई निरन्तर बृद्धि गर्दै गइरहेको अर्को बैंक हो । हकप्रद बाँढ्दै आफ्नो पूँजी बढाएको यो बैंकको पनि चुनौती सानिमाको झैं रहेको छ ।

ग्लोबल आइएमई बैंक पनि निरन्तर आरकोई बढाउँदै लगेको अर्को बैंक हो । बिदेशी ब्राण्ड स्ट¥यान्डर्ड चार्टड भने निरन्तर आरओई घटाउँदै लगेको बैंक हो । आफ्नो ब्राण्डको साख जोगाउन पनि भविष्यमा यो बैंकले धेरै मिहेनत गर्नुपर्ने देखिन्छ ।


पुष्प दुलाल