अटो लोन मूल्यमा ५० प्रतिशतसम्म मात्रै, ओभरड्राफ्ट बढीमा ७५ लाखसम्म



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले दिने ओभरड्राफ्ट (ओडी) कर्जाको सीमा घटाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले दिन पाउने अधिकतम सीमा १ करोड रुपैयाँबाट घटाएर ७५ लाख रुपैयाँ बनाइएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत यस्तो सीमा घटाएको हो ।

यस्तै निजी सबारीमा दिइने अटो कर्जाको सीमा पनि घटाइएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले सबारीसाधनको मूल्यको ९० प्रतिशतसम्म कर्जा दिदै आएका थिए । यस्तो कर्जामा अब मूल्यको बढीमा ५० प्रतिशत मात्रै कर्जा दिन पाइने ब्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्बजनिक गर्दै यस्तो जानकारी दिए ।

ट्रष्ट रिसिप्ट (टिआर) लोनको समय बढाइएको छ । यसअघि १२० दिनको लागि मात्रै टिआर लोन दिन पाइने ब्यवस्थामा पुनराबलोकन गर्दै अबदेखि १५० दिनसम्मको लागि दिन पाइने नयाँ ब्यवस्था गरिएको छ ।

बाणिज्य बैंकहरुले प्रत्येक्ष रुपमा लगानी गर्नुपर्ने बिपन्न बर्ग कर्जा कार्यान्वयनको समय पनि बृद्धि गरिएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुले कर्जा लगानी गरेको कूल कर्जाको २ प्रतिशत अनिवार्य रुपमा आफैले बिपन्न बर्गमा कर्जा दिनु पर्ने ब्यवस्था गरिएको थियो ।

यस्तो कर्जा आगामी असार मसान्तसम्ममा कार्यान्वयन गरिसक्न राष्ट्र बैंकले भनेको थियो । बाणिज्य बैंकहरुले कार्यान्वयन गर्ने समय कम भएको गुनासो गरेपछि राष्ट्र बैंकले समय थप गरेर २०७५ को असार मसान्तसम्ममा सो सीमा कायम गर्दा हुने ब्यवस्था गरेको हो ।


क्लिकमान्डु