बैदेशिक रोजगार बचतपत्र बेच्न कतार र दुबई हिँडे डेपुटी गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बुधबार कतार हिँडेका छन् । बैदेशिक रोजगार बचतपत्र बिक्री गर्न शिवाकोटी कतार गएका हुन् ।

उनी कतार मात्रै होइन, दुबई पनि जाँदैछन् । दुबईमा पनि उनले बचतपत्रकै मार्केटिङ गर्नेछन् ।

सरकारले निष्काशन गरेको बैदेशिक रोजगार बचतपत्र नबिकेपछि त्यसको कारण पत्ता लगाउन शिवाकोटी कतार र दुबई हिँडेका हुन् । उनले त्यहाँ ४ दिन बिताउने छन् ।

‘हामीले जारी गरेको बचतपत्र बिकेन, त्यसैले किन बिकेन भनेर कारण खोज्न र बचतपत्र किन्दा के कस्ता फाइदा हुन्छन् भनेर बुझाउँन कतार र दुबै जान लागेको हो,’ डेपुटी गभर्नर शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

उनले फागुन २७ गते कतारस्थित नेपाली राजदूताबासमा कतारमा रहेका नेपाली समुदायसँग भेटघाट गर्नेछन् । र, त्यहाँ जारी गरिएको बचतपत्र नबिक्नुको कारण पत्ता लगाउन प्रयास गर्नेछन् ।

त्यसपछि उनी दुबई जाने छन् । ३० गते दुबईको एक होटलमा त्यहाँ रहेका नेपालीहरुलाई बोलाएर बचतपत्र नबिक्नुको कारण पत्ता लगाउने प्रयास गर्नेछन् ।

‘रेमिटान्सलाई बैंकिङ च्यानलबाट ल्याउने र विदेशमा कार्यरत नेपालीहरुलाई बचतपत्रमा लगानी गर्न सचेतना फैलाउनु नै मेरो यात्राको मुख्य उद्देश्य हो,’ उनले भने ।

सरकारले आर्थिक वर्ष २०६५/६६ सालदेखि बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै आएको छ ।

रेमिटान्सको ९० प्रतिशत बढी रकम उपभोगमा खर्च भएको प्रति चिन्ता व्यक्त गर्दै रेमिट्यान्सलाई पुँजी निर्माणमा लगाई राष्ट्रिय उत्पादकत्व बढाउन सरकारले बचतपत्रको अबधारणा ल्याएको हो ।

तर, सो बचतपत्र निष्काशनको तुलनामा अत्यन्तै कम मात्रै बिक्री हुँदै आएको छ ।

चालू आर्थिक वर्षमा पनि राष्ट्र बैंकले माघ १७ गतेदेखि फागुन १५ गतेसम्म ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो । ५ वर्षका लागि जारी भएको बचतपत्रमा सरकारले वार्षिक १० प्रतिशत व्याज दिने जनाएको छ ।

तर, ४ करोड १२ लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले जानकारी दिए ।

कार्यकारी निर्देशक पंगेनीका अनुसार अमेरिका, जापान, दुबई, कोरिया, साउदी अरब, कतार, अफगानस्थान, उजबेकिस्तान र कंगोमा कार्यरत नेपालीहरुले बचतपत्र किनेका हुन् ।

बचतपत्र किन्न्का लागि राहदानी, कार्यरत मुलुकको भिसा, कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्र, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणका रुपमा विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचरसहित आवेदन दिनुपर्ने हुन्छ ।

परिवारका सदस्यका नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपीसहित आवेदन दिनु पर्छ ।


पुष्प दुलाल