जोसुकैको एलाइन्स् होस्, म त चुनाब उठ्ने होः सौरभ ज्योति



व्यवसायिक घराना ज्योति समूहका निर्देशक सौरभ ज्योतिले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटर्फको उपाध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरिसकेका छन् । बरिष्ठ उपाध्यक्षका दुबै उम्मेद्धारले प्यानल बनाएर चुनाबमा जाने घोषणा गरिरहेका बेला ज्योतिले भने स्वतन्त्ररुपमा आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् ।

आफूलाई राजनीतिभन्दा बढी काम आउने र महासंघको नेतृत्वमा आफूजस्तै काम गर्ने मान्छेको खाँचो रहेको उनको भनाई छ । महासंघकै निर्वाचनमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि पुष्प दुलाल र सागर गजुरेलले ज्योतिसँग गरेको कुराकानीः

तपाईं चुनाब उठ्ने नै हो त ?

उठ्ने नै भएर त उम्मेद्वारी घोषणा गरेको हुँ नि । एक/डेढ वर्षअघि देखि नै मैले उठ्ने भनेर भनिसकेको थिएँ । मेरा लागि संस्था सबैभन्दा माथि हो । संस्थाको हित सबैभन्दा माथि हो । नयाँ पुराना सबै सदस्यहरु मिलेरै जाऔं भन्ने मेरो प्राथमिकता हो । किनभने हामी सबै महासंघको परिवारका सदस्य हौं ।

तपाईँलाई नै भोट किन ?

मेरो ध्यान भनेको महासंघको काम संस्थागत विकास र सदस्यहरुको विकास हो । नेतृत्वले आफ्ना सदस्यहरुको कसरी सेवा गर्न सक्छ भन्ने नै हो ।

महासंघको नेतृत्वले समग्र निजी क्षेत्रको प्रगतिका लागि काम गर्ने हो । त्यसैले महासंघ भनेको सेवा गर्ने थलो हो, राजनीति गर्ने थलो होइन ।

महासंघ राजनीति गर्ने थलो होइन भन्नु हुन्छ । तर, नेतृत्वमा पुग्न राजनीति त भइरहेको छ नि ?

नहुनु पर्ने हो । तर, बिडम्बना त्यही भइरहेको छ । हामी जति बढी राजनीति गर्छौं, त्यति बढी विकृति भित्रिन्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो । निर्वाचन भएको नेतृत्व चयनका लागि हुने स्वस्थ्य अभ्यास हो । तर, हामीले निर्वाचनमा हुने राजनीतिलाई हदैसम्मको न्यूनिकरण गर्दै लानुपर्छ । हामीले हाम्रो उद्देश्य भूल्नु हुँदैन । राजनीति गर्नु हुँदैन । मिलेर जानुपर्छ भनेर म चुपचाप जस्तो देखिएको हुँ । यद्यपि म केही वर्षअघि देखि नै यो पदको आकांक्षी भने हो ।

दुई वर्षदेखि नै एसोसिएटतर्फएको उपाध्यक्ष हुने आकांक्षा थियो भन्नुभयो । यो बीचमा तपाईंको खासै चर्चा पनि थिएन । तर, टिम नै नबनाई एकाएक उम्मेद्वारी घोषणा गनुभयो नि ?

यसबीचमा मेरो उम्मेद्वारीको चर्चा धेरै नहुनुको कारण म काम गर्ने मान्छे हुँ । काममा धेरै ध्यान दिएकाले उम्मेद्वारीको चर्चा कम देखिएको हो । महासंघको नेतृत्वका लागि चाहिने योग्यता पनि काम नै हो । किनभने भोलि नेतृत्वमा पुगेर गर्ने पनि काम नै हो ।

एसोसिएटमा प्रोफेसनल उद्यमीहरु हुन्छन् त्यसैले उनीहरुले पनि प्रोफेसनल नै मान्छे रोज्छन् भन्ने मेरो विश्वास छ । को मान्छे गलत हो र को मान्छे सही हो भनेर उनीहरुले पक्कै पनि छुट्याउँछन् ।

स्वतन्त्र भएर उम्मेद्वारी नै घोषणा गर्नुपर्ने परिस्थिति कसरी आयो ?

धेरैजना उम्मेद्वार हुने भन्ने चर्चा चलिरहेको थियो । मैले सरसल्लाह गरेर अघिबढौं भनेको हुँ । मिलेर अघिबढ्ने बाटो आउँछ कि भनेर कुराहरु पनि नभएका होइनन् । किनभने सबै एउटै टिमका साथीहरु हौं । छलफल गरेर अघिबढ्दा राम्रो होला भन्ने मैले ठानेँ । तर, अहिले कोही पनि कम्प्रमाइजमा नआउने बातावरण भएपछि मैले आफ्नो उम्मेद्वारी घोषणा गरेको हुँ ।

प्रतिस्पर्धीहरुलाई कम्प्रमाइजमा ल्याउन के-कस्ता प्रयासहरु गर्नुभयो त ?

पदमा जाने भनेको मान सम्मान पाउन र राजनीति गर्न मात्रै जाने होइन । त्यहाँ त संस्थाको नोकर बन्न अर्थात् सेवा गर्न जाने हो । त्यसैले त्यो पदका लागि काम नै योग्यता हो भन्ने मेरो बुझाई हो । म काम बढी राजनीति कम गर्छु । मलाई सबैले भन्छन्- योपटक दाईलाई छाडिदिनु पर्यो, तिम्रो त उमेर छ अर्कोपटक उठे पनि हुन्छ । म ४२ वर्षको भइसकेँ । युवा भन्दाभन्दै मेरो पनि उमेर वितिसक्यो ।

भनेपछि तपाईँको चुनावी एजेण्डाहरुमध्ये महासंघमा युवा नेतृत्व आउनुपर्छ भन्ने पनि एक मुख्य एजेण्डा हो ?

४२ वर्षकोलाई युवा भन्ने कि नभन्ने ? उमेर ढल्किसक्यो, कपाल फुलिसक्यो । त्यो भन्दा पनि मुख्य कुरा के हो भने वर्तमानको महासंघको नेतृत्व गर्ने मेरो बेला भइसकेको छ । भविष्यको नेतृत्व गर्न अरु युवाहरु आउँछन् ।

तपाईं नेतृत्व गर्न योग्य हुनुहुन्छ कि हुँदैन भन्नलाई तपाईसँग क्षमता पनि चाहियो । अनुभव चाहियो । योगदान चाहियो । क्षमता कहाँबाट आउँछ भन्दा त्यो अनुभवबाट आउँछ । अनुभवकै कुरा गर्नुहुन्छ भने ज्योति समुहमा मैले सक्रिय भएर काम गरेको १७ वर्ष भइसक्यो ।

ज्योति समूहले उत्पादनमूलक, व्यापार, सेवा, उर्जा सबै क्षेत्रमा लगानी गरेका छौं । भनेपछि मसँग एउटा क्षेत्रको मात्रै नभएर सबै क्षेत्रको ज्ञान छ । सबै क्षेत्रका समस्याहरुलाई मैले बुझेको छु । त्यसैले मलाई के नीतिगत सुधार गर्नुपर्छ भन्ने कुराको अनुभव छ ।

अब महासंघको कुरा गरौं । म नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै अध्यक्ष भएर ६ वर्ष काम गरेँ । त्यसपछि नाडामा १० वर्ष काम गरेँ । अध्यक्ष भएर छोडेँ । त्यसैगरी, महासंघमा मेरो यो दोस्रो कार्यकाल हो । दुई कार्यकाल अत्यधिक मतले निर्वाचनमा बिजयी भएँ । र, तेस्रो कार्यकालका लागि बस्तुगत तर्फबाट आएको हुँ । वस्तुगतबाट आउनुको पनि मेरो कारण छ, किनभने कति एसोसिएटबाट आउने भनेर यहाँ आएको हुँ । म वस्तुगतमा आएँभने एसोसिएटमा अरुले अबसर त पाउँछन् । ९ वर्षको अवधिमा मैले ३ वटा ससिमतिको सभापति भएर नेतृत्व गरिसकेको छु । अहिले म राजस्व समितिको सभापति हुँ । मेरो अनुभबका आधारमा मलाई म यो पदका लागि योग्य छु भन्ने लाग्छ । त्यसैले उम्मेद्वारी दिएको हुँ ।

नेतृत्व गर्नु ठूलो कुरा होइन । त्यो भन्दा आधारभूत कुरा के हो भने पहिला संस्थामा आउनु पर्यो । संस्थामा काम गर्नुपर्यो । संस्थालाई बलियो बनाउनु पर्यो । त्यसपछि मात्रै हो नेतृत्व लिँदै जाने हो । सबै आएर एकैचोटी जम्प गरेर नेतृत्वमात्रै लिन खोज्ने प्रवृत्ति हाबी हुँदै जाने हो भने भोलि संस्थामा काम गर्न को आउँछ ?

महासंघको नेतृत्वमा पुग्न राजनीति गर्न पनि जानेको हुनुपर्छ । तर, तपाईँ राजनीति गर्न जान्ने मान्छे हो जस्तो लाग्दैन । चुनाब जितिएला त ?

राजनीति गर्न नजान्ने भएकाले नै मैले एसोसिएटबाट चुनाब लडेको हुँ । भर्खरभर्खर राजनीति सिक्दै पनि छु । जनीति सिकेपछि जिल्ला नगर मिलाउँदै बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षसम्म पुगुँला नि ।

एसोसिएटमा उद्यमीहरु, प्रोफेसनल मान्छेहरु हुन्छन् त्यसैले उनीहरुले पनि प्रोफेसनल नै मान्छे रोज्छन् भन्ने मेरो विश्वास छ । को मान्छे गलत हो र को मान्छे सही हो भनेर उनीहरुले पक्कै पनि छुट्याउँछन् । भोट खसाल्ने बुथमा पुगेपछि पक्केपनि उहाँहरुले आफ्नो विवेक प्रयोग गर्नु हुनेछ ।

प्रतिस्पर्धीसँग मिलेर जाउँ भनेर कतिको छलफल भइरहेको छ ?

निरन्तर सम्पर्क भइरहेको छ । मिलाउने प्रयास अझ पनि जारी छ । अन्तिम समयसम्म मिल्ने र मलाउने प्रयास जारी भइरहन्छ । म त्यसमा सकरात्मक छु ।

उपाध्यक्षका लागि प्रत्यासी देखिएका चन्द्र ढकाल र ज्ञानेन्द्रलाल प्रधानबीच एलाइन्स भयो भने तपाईँ के गर्नुहुन्छ ?

जोसुकैको जहाँजहाँ एलाइन्स भएपनि म त चुनाब उठ्ने नै हो ।

भनेपछि अब तपाईं कुनैपनि हालतमा व्याक हुनुहुन्न ?

एउटामात्रै कुरा के हो मेरा कारणले संस्थालाई नकरात्मक असर पर्छ । सदस्यहरुको हित हुँदैन भने मैले मेरो उम्मेद्धारीको विषयमा सोच्न सक्छु । संस्थाको हितमा सर्वसहमति भयो भने म लचिलो हुनसक्छु । नत्र म चुनाबमा जान्छु ।

भनेपछि तपाईँ उपाध्यक्ष हुँदा मात्रै संस्थाको हित हुन्छ भन्न खोज्नुभएको हो ?

त्यस्तो होइन । मैले त्यस्तो सोचेको पनि छैन । चुनाबमा जाने हो, फैसला गर्ने अधिकार मतदाताको हुन्छ । म मतदाताको निर्णयलाई सम्मान गर्छु ।

महासंघको निर्वाचनमा विगतदेखि नै पूर्वअध्यक्षहरुको महत्वपूर्ण भूमिका रहँदै आएको देखिन्छ । तपाईँको पक्षमा कति पूर्वअध्यक्षहरु छन् त ?

पूर्वअध्यक्षहरुले इतिहाँस हेरेर संस्थाको हितका लागि निर्णय गर्नुहुन्छ । अरु सदस्यहरुलाई जस्तै उहाँहरुलाई पनि सहयोग गर्नुहोस् भन्दै जान्छु, कसले सहयोग गर्नुहुन्छ कसले गर्नुहुन्न त्यो त चुनाबमै थाहा हुन्छ । मलाई विश्वास छ अधिकांस पूर्वअध्यक्षहरुको साथ मलाई रहनेछ ।


क्लिकमान्डु