महासंघको नेतृत्वमा जाने गोल्छा परिवारको सपना नै होः शेखर गोल्छा



निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी रौनक छाएको छ । महासंघको आगामी कार्यकालका लागि चैत अन्तिम साता नेतृत्व छनोट गर्ने गरी साधारणसभा हुँदैछ । बरिष्ठ उपाध्यक्षको औपचारिक उम्मेद्वारी घोषणा गर्न शेखर गोल्छा यतिखेर आफ्ना समर्थकहरुको जम्बो टोलीसहित बुटवल पुगेका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार गोल्छाले उम्मेद्वारी घोषणाको लागि बुटबल नै किन रोजे ? कस्तो छ उनको चुनाबी अंक गणित ? उनी बरिष्ठ उपाध्यक्ष बने पछि के कस्ता काम गर्ने योजना बनाएका छन् ? चुनाब जित्ने उनको आधार के हो ? यी र यस्तै समसामयिक विषयमा गोल्छासँग क्लिकमाण्डूका लागि सागर गजुरेलले बुटवलमा गरेको कुराकानी:

उम्मेद्वारी घोषणा गर्न किन बुटवल आउनु भएको ?

बुटवल उद्योग वाणिज्य संघ हाम्रो संस्थापक सदस्य हो । महासंघभित्र पुरानो सदस्यमा बुटवल उद्योग वाणिज्य संघ पर्छ । बुटवलले मेरो नाम घोषणा गर्न चाहन्छ भने मेरो मनोबल बृद्धि गर्ने यो भन्दा महत्वपूर्ण अर्काे अबसर हुँदैनथ्यो । यसको लागि बुटबल उद्योग बाणिज्य संघप्रति म अत्यन्तै आभारी छु । उहाँहरुले यो कार्यक्रमको आयोजना गर्नुभयो । बुटवलले मेरो उम्मेद्वारी घोषणा गर्दैछ । जसमा ६० जना जिल्ला नगरका अध्यक्ष सहभागी हुनुहुन्छ । अहिलेको कार्यसमितिका ३० जनाजति सहभागी हुनुहुन्छ ।

चुनावका दौरानमा जिल्ला तथा नगरका प्रतिनिधिहरुसँग छलफल बाक्लो बनाउनुभएको छ । जिल्ला–नगरको समस्या के देख्नुभयो ?

जिल्लाका साथीहरुले मुख्यरुपमा नीतिगत बिषयका कुरा गर्नुहुन्छ । अहिले मुख्यरुपमा ब्याजदरको कुरा हो । त्यस्तै, कर सम्बन्धी धेरै कुरा छन् । स्थानीय समस्या छन् । सम्भावना भएपनि लगानीकर्ता नपाउने खालका समस्या छन् । केन्द्रसँगको सम्बन्ध राम्रो हुन सकेको छैन । सचिवालय कमजोर भएको कारण यस्तो भएको हो ।

मेरो सपना परिवारले पनि देखेको छ । महासंघमा मेरो परिवारले पनि ठूलो योगदान दिएको छ । जिल्लामा पनि हामीले धेरै काम गरेका छौं । त्यो हुँदा महासंघको नेतृत्व गर्नुपर्छ भन्ने लागेर चुनावमा उठेको हूँ ।

तपाईंको चुनाबीसभालाई घोषणा गर्न ६० जिल्लाबाट अध्यक्ष, पूर्वअध्यक्ष तथा प्रतिनिधिहरु बुटवल आएका छन् । राजनीति भएजस्तै देखियो नि ?

यसले महासंघ शसक्त हुँदै गएको देखाएको छ । मलाई विश्वास छ,- महासंघमा चुनाव पक्का छ । राम्रो र नैतिक हुने गरी चुनाव गर्ने हो ।

तपाईंलाई भोट किन दिने ?

मैले ३/४ वटा कारण भन्छु । म २ दशकदेखि चेम्बर अभियानमा लागेको छु । अर्को पारिवारिक पृष्ठभूमि पनि हो ।महासंघको पहिलो तदर्थ समिति बनेको थियो । यसमा मेरो बुवा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले महासंघको पहिलो विधान बनाउनु भएको थियो । बुवाले महासंघको नेतृत्व गर्न चाहनु भएको थियो । तर, स्वास्थ्यको कारण पुरा हुन सकेन । त्यसपछि दीवाकर दाई, महेन्द्र दाईले पनि महासंघको नेतृत्व गर्न चाहनु भएको थियो । तर, केही कारणले उहाँहरुले नेतृत्व गर्न सक्नु भएन । मेरो सपना परिवारले पनि देखेको छ । महासंघमा मेरो परिवारले पनि ठूलो योगदान दिएको छ । जिल्लामा पनि हामीले धेरै काम गरेका छौं । त्यो हुँदा महासंघको नेतृत्व गर्नुपर्छ भन्ने लागेर चुनावमा उठेको हूँ ।

चुनाव जितेपछि तपार्इंले गर्ने काम चैं के हो नि ?

हाम्रो अध्यक्ष भवानी राणा बन्दै हुनुहुन्छ । मेरो पहिलो काम अध्यक्षलाई सहयोग गर्ने हो । अर्को सचिवालय सुधार गर्ने हो । यसबाट जिल्लाका समस्याहरु समाधान गर्न सकिन्छ । राम्रो सचिवालय भयो यसलाई समाधान गर्न सकिन्छ ।

अर्को मैले देश विदेशका एनजिओ र तथा उद्योग वाणिज्य महासंघसँग सम्बन्ध विस्तार गर्ने हो । लगानीको सम्भावनालाई खोज्ने मेरो लक्ष्य छ । जुन काम विगतदेखि नै मैले गरेको छु । नेपालमा निजी क्षेत्रसँग सम्बन्धित ऐनहरु बन्दैछ । यसलाई निजी क्षेत्रमैत्री बनाउनु पर्ने छ ।


पुष्प दुलाल