५५ जिल्लाका अध्यक्षको समर्थनसहित शेखर गोल्छाले गरे उम्मेद्वारी घोषणा



बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

अहिलेको कार्यकालमा एसोसिएटतर्फका उपाध्यक्ष रहेका गोल्छाले आइतबार बुटवल पुगेर औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

गोल्छाले पदाधिकारी टिम सहित उम्मेद्वारी घोषणा गरेका हुन् । गोल्छाको टिममा जिल्ला तथा नगर उपाध्यक्षमा  दिनेश श्रेष्ठ, एशोसियट उपाध्यक्षमा चन्द्र ढकाल, बस्तुगत उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् ।

बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै शेखर गोल्छाले आफ्नो जीवनको अविस्मरणिय क्षण बुटवलमा भएको बताए ।

‘चेम्बर आन्दोलनमा ६ दशक बिताएको छु’,उनले भने,‘ पछिल्लो ६ महिनामा महासंघका ४२ जिल्ला पुगेका छु,जिल्लाका साथीहरुको स्नेह सदैव सम्झने छु।’

उनले संस्थागत काम गर्न महासंघ चाहिएको बताउँदै गोल्छा समुह नेपालको पहिलो उद्योग खोल्ने समूह भएको र आफु त्यो समुहबाट आएको बताए ।

‘हाम्रो समुहले १७ हजार जनालाई रोजगारी दिएको छ,’ उनले थपे,‘ मेरो उम्मेद्वारी भवानी राणाको कार्यकाललाई सफल बनाउनको लागि हो।’

धेरैवटा ऐन बन्ने क्रममा रहेको र त्यसलाई निजी क्षेत्र मैत्री बनाउनुपर्ने र सचिवालय सुधार गर्ने प्रतिबद्धता गोल्छाले व्यक्त गरे ।

बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको गोल्छाको उम्मेद्वारी घोषणासभामा ३ सयभन्दा बढी व्यवसयाहरु उपस्थित छन् । गोल्छालाई समर्थन जनाउँदै देशभरबाट ५५ जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरु उम्मेद्वारी घोषणा सभामा उपस्थित भएका छन् ।

बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधानले गत फागनु २२ गते बिराटनगर पुगेर आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए ।

गोल्छाको उम्मेद्वारीलाई समर्थन जनाउँदै महासंघका अहिलेका अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा र पूर्वअध्यक्ष चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ लगायतका व्यवसायीहरु बुटवल पुगेका छन् । महासंघको अहिलेको विधान अनुसार बरिष्ठ उपाध्यक्ष तीन वर्षपछि स्वत अध्यक्ष हुने भएको हुँदा यो पटकको चुनावमा बरिष्ठ उपाध्यक्षको उम्मेद्वारीको चर्चा बढी छ ।

कसले के भने ?

उम्मेद्वारी घोषणासभामा बोल्दै बरिष्ठ उपाध्यक्ष भवानी राणाले यो पटकबाट महासंघमा गुटको राजनीति अन्तय हुने दाबी गरिन् ।

‘तपाईंहरूको साथबिना केही पनि गर्न सक्दिन,’ राणाले भनिन्,– ‘राजनीति कारण मुलुक अफ्ट्यारो अबस्थामा छ । आर्थिक मुद्दा बोल्नको लागि नारामा मात्र राम्रो छ ।’

गोल्छाको उम्मेद्वारीमा समर्थन गर्न कार्यक्रम आयोजना गरेका बुटवल वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले शेखर गोल्छा लाई पुर्ण समर्थन रहने घोषणा गरे । उनले शेखर र भवानी राणाको नेतृत्वले महासंघलाई उच्चस्थानमा पुर्याउने दाबी गरे ।

‘भवानी, शेखर, चन्द्र, उमेश, दिनेश र ज्ञानेन्द्र जस्तो व्यक्ति भएको कारण हाम्रो समर्थन यो टिमलाई भएको हो’ उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले भने, ‘ यस क्षेत्रको अग्रणी बुटवल संघले महासंघ बलियो भएको हेर्न चाहन्छ ।’

चन्डी ढकालले गोल्छा परिवारले महासंघलाई धेरै दिएको बताउँदै अब महासंघले गोल्छा परिवारलाई दिने बेला आएको बताए ।

‘ हुलासचन्द, महेन्द्र र दिवाकर गोल्छा बिर्षन हुँदैन,’ ढकालले भने,‘ बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा सबैभन्दा उपयुक्त व्यक्ति हो।’

उनले महासंघको नेतृत्वलाई खारिने मौका दिन बरिस्ठ लाई स्वतं अध्यक्ष बनाउने निस्कर्षमा पुगेर विधान संसोधन गरेको बताए ।

अहिलेको पशुपति मुरारकाको कार्यकाल पछिल्लो समयकै उत्कृष्ट भएको भन्दै ढकालले उनको जस्तो पर्फरमेन्स दिन अब आउने नेतृत्वलाई चुनौतीपूर्ण रहेको दाबी गरे ।

गोल्छाको समूहबाट एशोसिएट तर्फ उपाध्यक्षको उम्मेद्वारी दिन लागेका चन्द्र ढकालले महासंघको सचिवालय परिवर्तन पहिलो प्रयास हुने दाबी गरे ।

‘श्रम कानुन परित र कार्यान्वयन मेरो प्रथमिकतामा हुने छ’,ढकालले भने,‘ व्यवसायीक विकासमा नीतिगत व्यवस्था गर्न सरकार सँग लबिङ गर्ने छु।’

गोल्छाको प्यानलबाट कोषाध्यक्षको उम्मेद्वार बनेका ज्ञानेन्द्रलाल प्रधानले सहकार्यको लागि आफुले उपाध्यक्षको पद छाडेर कोषाध्यक्षमा उम्मेद्वारी दिएको बताए ।

गोल्छाकै प्यानलबाट बस्तुगतबाट उपाध्यक्षको उम्मेद्वारी दिन लागेका उमेशलाल श्रेष्ठले आर्थिक सम्बृद्धिको लागि उत्साहको साथ उम्मेद्वारी दिन लागेको बताए । उनले आफुले अध्यक्ष भवानी राणाको कार्यकाल सफल बनाउनको लागि उम्मेद्वारी दिन लागेको बताए ।

गोल्छाको प्यानलबाट जिल्ला तथा नगरबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिनेश श्रेष्ठले नयाँ जिम्मेवारीमा खरो रुपमा उत्रन नसकेमा पद छाड्न तयार रहेको बताए ।

‘जिल्ला, बस्तुगत जे बाट आएपनि म महासंघको काममा बुद्दि र बिवेकले काम गर्ने छु’,उनले भने,‘ जिल्लाका साथीहरु र क्षमतावान हुनुहुन्छ र यसअघि जिल्लाबाट नेतृत्वमा पुग्नेले पदाधिकारी बनेर काम गरे ।’

यो पनि पढ्नुहोस्- यसकारण पो उम्मेद्वारी घोषणा गर्न काठमाडौं बाहिर जाँदा रहेछन् व्यवसायीका नेता 


पुष्प दुलाल