भारतीय टोलीलाई पाँच बैंकका प्रतिनिधिको ब्रिफिङ



काठमाडौं । प्रतिबन्धित ५०० र १००० दरका भारतीय नोट सटहीबारे छलफल गर्न नेपाला आएको रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को टोलीले विभिन्न वाणिज्य बैंकका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरेको छ ।

मंगलबार नेपाल आएको आरबीआइको टोलीले बुधबार राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, विदेशी मुद्रा व्यवस्थापन  विभागका कार्यकारी निर्देशक भिष्म ढुंगानासहति ५ वाणिज्य बैंकका कम्प्लाइन्स (अनुपालन) विभाग प्रमुखसँग छलफल गरेको छ ।

टोलीले रिजर्भ आरबीआइलाई आफ्नो प्रतिबेदन बुझाउँछ र आरबीआइले भारत सरकारलाई सो प्रतिबेदन अनुसार सिफारिस गर्छ, त्यसपछि मात्रै नेपालमा भएका प्रतिबन्धित भारु नोट साटिने छन्, तर त्यसका लागि केही समय कुर्नुपर्ने भएको छ ।

नेपालमा रहेका प्रतिबन्धित भारु साट्न भारत तयार सकरात्मक रहेको जानकारी दिँदै आरबीआइको टोलीले नेपालको बैंकिङ प्रणाली कतिको सुरक्षित छ ? भन्ने प्रश्न गरेको बैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक ढुंगानाले जानकारी क्लिकमाण्डूलाई दिए ।

ढुंगानाका अनुसार बुधबार राष्ट्र बैंकमा भएको छलफलमा स्टान्डर्ड चार्टड, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक र एनआइसी एसिया बैंकका अनुपालन विभागका प्रमुख उपस्थित थिए ।

‘रेगुलेटरले गरेको व्यवस्था बैंकहरुले कसरी पालन गरिरहेका छन् भनेर भारतीय टोलीले जान्न खोजे,’ उनले क्लिकमाण्डूसँग भने ।

वाणिज्य बैंकका प्रतिनिधिहरुले भारतीय टोलीले राखेको नो योर कस्टमर (केवाईसी) र सम्पत्ति सुद्धिकरणका सम्बन्धमा आफ्नो बैंकले के कस्ता कामहरु गर्दै आएको छ भन्ने जानकारी गराएका थिए ।

‘उहाँहरु (आरबीआइको टोली)ले गरेको शंका राष्ट्र बैंक र वाणिज्य बैंकका प्रतिनिधिहरुले निवारण गरेका छन्,’ कार्यकारी निर्देशक ढुंगानाले भने,- ‘भारतीय टोली सकरात्मक छ । नेपालमा रहेका प्रतिबन्धित भारु नोट उपयुक्त मोडालिटीमा साटिनेमा हामी विश्वस्त छौं ।’

आरबीआइका करेन्सी म्यानेजमेन्ट र बैंक सुपरिभिजन डिपार्टमेन्टका कार्यकारी निर्देशक नेपालमा भएका प्रतिबन्धित भारु नोटको यथार्थता बुझ्न नेपाल आएका हुन् ।

‘टोलीले रिजर्भ आरबीआइलाई आफ्नो प्रतिबेदन बुझाउँछ र आरबीआइले भारत सरकारलाई सो प्रतिबेदन अनुसार सिफारिस गर्छ,’ ढुंगानाले भने,- ‘त्यसपछि मात्रै नेपालमा भएका प्रतिबन्धित भारु नोट साटिने छन्, तर त्यसका लागि केही समय कुर्नुपर्ने भएको छ ।’

भारु सटहीबारे भारतको आधिकारिक टोलीसँग पहिलोपटक नेपालमा छलफल भएको ढुंगानाले बताए ।

गत कात्तिक तेस्रो साता देशबासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका पुराना भारु नोट नचल्ने घोषणा गरे । भारतमा बढ्दै गएको कालो धन नियन्त्रण गर्न भन्दै नोटमा लगाइएको प्रतिवन्धले भारु चल्ने देशहरुमा समेत समस्या परेको थियो ।

नेपालका बैंक तथा वित्तीय संस्था, होटल एवं मनि चेञ्जर कम्पनीहरुमा ५०० र १०० दरका ८ करोड ७४ लाख रुपैयाँ भारु नोट छन् । सर्वसाधारणसँग भएको भारुको कुनैपनि विवरण छैन ।

खासगरी नेपालको पश्चिम पहाड र अधिकांस तराईका जिल्लाहरुमा भारु व्यापकरुपमा चलनचल्तीमा रहेकाले सो दरका भारु नोट अर्बौं हुनसक्ने अनुमान गरिएको छ ।

राष्ट्र बैंकले नेपालका सर्वसाधारणसँग भएका सो दरका भारु नोट प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म सटही सुविधाको व्यवस्था मिलाइदिन आग्रह गरेको थियो ।

राष्ट्र बैंकले प्रस्ताब गरेको सोही मोडालिटीमा रहेर नेपालमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले आरबीआइको टोली नेपाल आएको हो । आरबीआईको टोली बिहिबार भारत फर्किने छ ।


पुष्प दुलाल