नेपाल यस्तो देश हो, जहाँ थोरै लगानी गर्दा धेरै फाइदा हुन्छ



काठमाडौं । ‘नेपाल यस्तो देश हो, जहाँ न्यून लगानीमै अधिक फाइदा गर्न सकिन्छ ।’

माथि उल्लेखित बाक्य कुनै नेपाली नेताको होइन । यो त नेपालमै व्यवसाय गरेर मनग्ये नाफा कमाउँदै आएका व्यवसायीको भनाई हो ।

देशमा ठूलो लगानी भित्र्याउने उद्देश्यले सरकारको आयोजनामा राजधानीमा ‘अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०१७’ भइरहेको छ । सम्मेलनमा विश्वभरका ३ सय बढी लगानीकर्ताहरु उपस्थित छन् ।

हो, त्यही सम्मेलनमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनले नेपालमा लगानी गर्दा राम्रो नाफा कमाउन सकिन्छ भने आफ्नै अनुभवलाई उदाहारण दिए । जसले सम्मेलनमा उपस्थित लगानीकर्ताहरुको ध्यान खिच्यो ।

भार्सनले दिएको उदाहारणले नेपालमा लगानीको वातावरण छैन भनेर रोइलो गर्ने उद्योगी–व्यवसायीहरुलाई निश्चय पनि गिज्याउँछ ।

भार्सनले आफूहरुले नेपालमा थप लगानीको तयारी गरिरहेको समेत खुलासा गरे ।

‘नेपाल यस्तो देश हो, जहाँ न्यून लगानीमै अधिक फाइदा गर्न सकिन्छ,’ भार्सनले भने,- ‘हामी त नेपालमा थप लगानी गर्नको तयारी गरिरहेका छौं ।’

उनले नेपालमा सरकार र लगानीकर्ताबीच सहज सम्बन्ध छ भएको समेत बताए ।

नेपालमा लगानी गर्नेमध्ये अर्को सफल कम्पनी हो, युलिभिर नेपाल । युनिलिभरका प्रवन्ध निर्देशक शुयस चौहानले जनतासँगको सम्बन्धको कारण कम्पनी सफल भएको बताए ।

‘उपभोक्ता खुसी भएको कारण कम्पनीले सेयरधनीलाई राम्रो प्रतिफल दिन सफल भएको छ,’ चौहानले भने ।

युनिलिभरले पनि स्थानीय उत्पादन बढाउन थप लगानी गर्ने तयारी गरिरहेको जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले अहिले लगानी नगर्ने लगानीलाई पछुतो हुने बताए ।

‘म एनआरएन साथीहरुलाई पहिले आफुले लगानी गर्न आग्रह गर्छु, त्यसपछि अरुलाई ल्याउनुहोस्’ महतोले भने ।

व्यवसायीक घराना ज्योति समूहका अध्यक्ष पद्म ज्योति नेपालमा लगानीको लागि बजारको ठूलो सम्भावना भएको बताए ।

‘लगानीकर्ताले हेर्ने बजारको सम्भावनामा हामी अगाडि छौ । त्यसको फाइदा हामीले उठाउन सक्छांै,’ उनले भने ।

सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यले सार्क क्षेत्रमा युरोपमा जस्तो आवतजावत सहज नभएपनि बजारको सम्भावनाको कारण लगानीको लागि राम्रो ठाउँ नेपाल रहेकोमा जोड दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा आर्थिक स्थिरता रहेको तथा अत्याधिक नाफा भएको हुँदा लगानीका लागि सुरक्षित रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाले महासंघले दोस्रो चरणको आर्थिक सुधारमा काम गरेको भन्दै काम गर्नको लागि सहज वातावरण भएको बताइनन् ।


पुष्प दुलाल