सुरज बैद्यले भने- भाष्करले चुनाब हार्नु नै महासंघका लागि ठूलो दुर्भाग्य



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्यले महासंघमा भाष्करराज राज कर्णिकारले चुनाब हार्नु नै महासंघका लागि ठूलो दुर्भाग्य भएको दाबी गरे ।

मंगलबार चाबहिलस्थित आफ्नै कार्यकक्षमा क्लिकमाण्डूसँग कुरा गर्दै बैद्यले भाष्कर महासंघका लागि चाहिने व्यक्ति भएको ठोकुवासमेत गरे ।

‘अहिलेको महासंघको नेतृत्व हेरेर म अचम्ममा परिरहेको छु, महासंघभित्र अध्यक्षको चेम्बरमा ३ वटा कुर्सी छन्, यो प्रवृत्तिले मलाई निकै चिन्तित बनाएको छ,’ बैद्यले भने,- ‘महासंघको इतिहासमै अहिलेको नेतृत्व कमजोर छ ।’

नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनु हप्तादिन अघि पूर्वअध्यक्षको यस्तो भनाईले निकै महत्व राख्छ ।

आफू महासंघको भविष्यप्रति निकै चिन्तित भएको उनको दाबी छ । महासंघमा नाममा एउटा अध्यक्ष र व्यवहारमा भने अरु दुई जना अध्यक्ष देखिएकाले आफू चिन्तित भएको उनले सुनाए ।

‘भवानीजी शेखरको उमेद्वारी घोषणा सभामा बुटवल जान चाहनुभएको थिएन तर दबाब थेग्न नसकेर पुग्नुभयो,’ उनले भने,- ‘जसले यस्तो सानो प्रेसर थाम्न सक्दैन भने भोली महासंघमा अरु प्रेसर कसरी थाम्न सक्छ ? मेरो बिरोध यहाँनेर हो ।’

महासंघमा आफूले लगातार २७ वर्ष काम गरेकाले महासंघको भवियप्रति निकै चिन्तित भएको उनले सुनाए ।
‘भाष्कर चुनाब हार्नु नै महासंघका लागि ठूलो दुर्भाग्य भयो,’ उनले भने ।

नेतृत्व कमजोर भएपछि संस्थाको अस्तित्व पनि कमजोर हुँदै गएको भन्दै उनले गहिरो चिन्ता प्रकट गरे ।

‘नेतृत्व अरुको कठपुतली हुनुहुँदैन, आफैं निर्णय गर्नसक्ने क्षमता भाष्करसँग थियो,’ बैद्यले भने,- ‘तर, उसको केही उद्योग छैन भनेर हराइयो । जसले गर्दा अहिले उद्योगी/व्यवसायीको पक्षमा नडराई बोल्ने र राज्यसंयन्त्रसँग लड्ने मान्छे महासंघमा छैन ।’

आफू कुनै पक्ष र विपक्षमा नभएको उनको दाबी छ ।

‘भवानीलाई मैले ल्याएको हो, शेखरलाई मैले बनाएको हो, पशुपतिलाई मैले जन्माएको हो भन्दा पनि हुन्छ,’ उनले भने,- ‘मेरो कुनै गुट छैन । जसले राम्रो काम गर्छ । महासंघको संस्थागत हितका लागि काम गर्छ मेरो समर्थन उसैलाई हुन्छ ।’

आफूलाई किशोर प्रधान समूहले पूर्वअध्यक्ष ठानेर बोलाएकाले मात्रै उनको उम्मेद्वारी घोषणा सभामा गएको बैद्यले दाबी गरे ।

‘शेखरले मलाई बालाएकै छैनन् अनि कसरी जाउँ ?’ उनले प्रश्न गरे,- ‘बोलाएका भए जान्थेँ ।’

हिँजोको महासंघलाई सम्झेर भोलिको महासंघ बनाऔं भन्ने आफ्नो सन्देश रहेको उनले जानकारी दिए । गोल्छाले पूर्वअध्यक्षहरुले महासंघमा धेरै हस्तक्षेप भयो गरे भनेर पत्रिकामा लेख नै लेखेको भन्दै उनले गुनासो गरे ।

‘मलाई देखाउनुहोस् कि कुन पूर्वअध्यक्षले हस्तक्षेप गर्यो ?’ बैद्यले शेखरलाई प्रश्न गरे ।

विधान संसोधन नै गलत

केही व्यक्तिहरको गलत मनसायका कारण महासंघको विधान परिवर्तन भएको उनले बताए । विधान संसोधन गर्न पूर्वअध्यक्षहरुसँग सल्लाह र छलफल नै नगरेको भन्दै उनले आपत्ति प्रकट गरे ।

‘पदमज्योति जस्तो स्वतन्त्र पूर्वअध्यक्षलाई पनि कसैले सल्लाह लिएन,’ उनले भने,- ‘कसैले महासंघलाई प्राइभेट कम्पनीकोरुपमा चलाउँछ भने म त्यो प्रवृत्तिको सँधै विरोध गर्छु ।’

तीनै जना उपाध्यक्षलाई तिमी बरिष्ठ उपाध्यक्ष हौ भने भनेपछि उनीहरु चुप लागेर बसेको अनि केही व्यक्तिले खल्तीबाट झिकेर महासंघको विधान संसोधन गरेको उनको आरोप छ ।

प्रदिपजंग पाण्डेलाई फसाइयो

बैद्यले पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेलाई फसाइएको दाबी गरे । ‘दोष सबै भाष्करलाई दिन्छन् तर सत्य के हो भने जसले पाण्डेलाई उठाए तिनैले निर्वाचित भएपछि पछारे,’ बैद्यले सुनाए ।

प्रदिपजंग पाण्डे, भाष्कर र पूर्वअध्यक्षहरुबीच एक वर्षपछि पाण्डेले छाडेर भाष्करलाई अध्यक्ष बनाउने लिखित सहमति भएको उनले पर्दाफास गरे ।

‘म प्रदिपलाई कदर गर्छु । किनभने उहाँ पनि मेरो उपाध्यक्ष हो । र, जुन आधारले उहाँलाई फसाइयो र, अहिले मेरा साथीहरु फस्दै गइरहेका छन्, मलाई त्यहाँ डर छ ।’ उनले भने ।

भाष्कर र प्रदिपजंग पाण्डेबीच महासंघ अध्यक्षमा चुनाव हुने अघिल्लो दिन ४ बजे पाण्डेजीको डकुमेन्ट आफ्नो हातमा परेको उनले स्मरण गरे । त्यो डकुमेन्ट हात पर्नेवित्तिकै आफूले पूर्वअध्यक्ष आनन्दराज मुल्मीलाई खबर गरेको र मुल्मीले डकुमेन्ट पढेपछि प्रदिपलाई एकदमै अफ्ठ्यारो हुन्छ जवाफ दिएको उनले सुनाए ।

‘त्यसपछि राती १० बजे मैले सबै पूर्वअध्यक्षहरुलाई खबर गरेँ । २ जना बाहेक मिटिङमा आउन मानेनन् । चुनाब पछि कुरा गरौंला भन्ने जवाफ फर्काए,’ उनले भने- ‘चुनाव हुनुभन्दा १ घन्टा अघि मैले प्रदिपजंग पाण्डे, भाष्कर र प्रदिपको छोरा प्रवललाई बोलाएँ । र, यो मिलाउनुहोस् भने । तर प्रदिपलाई यतिधेरै फोन आयो कि फोनमा चुनाब लड्न दबाब आइरहेको थियो ।’

चुनावको परिणाम आएको भोलिपल्ट पूर्वअध्यक्षहरुको मिटिङ बसेर प्रदिपले चुनाब जित्नु वर्वाद भएको प्रतिक्रिया दिएको उनले स्मरण गरे ।

‘हिँजोसम्म जो जो प्रदिपलाई जिताउन लागेका थिए,। चुनाब जितेको भोलिपल्ट देखि उनीहरु नै पछार्न लागि परे,’ उनले भने,- ‘इगो भन्ने कुरा निकै ठूलो हुँदो रहेछ ।’

आफूलाई अहिले पनि महासंघको अध्यक्षहरुको फोटो झुन्ड्याए ठाउँमा प्रदिपको फोटो झुन्ड्याउँदा कुनै आपत्ति नभएको उनले बताए ।

पछिल्ला ३ वर्षमा महासंघ विग्रियो

पछिल्ला ३ वर्षमा महासंघ विग्रिएको उनको भनाई छ । यस अवधिमा नहुनु पर्ने कुराहरु धेरै भएको र यसरी अघि बढ्ने हो भने आगामी दिनमा महासंघ कहाँ पुग्छ भन्ने चिन्ता लिनु पूर्वअध्यक्षहरुको दायित्व भएको उनको भनाई छ ।

‘यो ३ वर्षको अवधिमा जनताले, सरकारले र आफ्नै सदस्यहरुले महासंघलाई हेर्ने दृष्टिकोण बदलिएको छ,’ बैद्यले भने,-‘यो किशोर प्रधान र शेखर गोल्छाको कुरा होइन, संस्थाको कुरा हो ।’

म्यासेन्जरमात्रै भयो महासंघको नेतृत्व

यस अवधिमा महासंघले म्यासेन्जरको भूमिका मात्रै खेलेको उनको आरोप छ । प्रधानमन्त्रीले मधेसीलाई सम्झाइ देउ न भनेपछि महासंघ नेतृत्व मधेस सम्झाउन लागेको र मधेसले पठाएको म्यासेज लिएर प्रधानमन्त्री सम्झाउनतिर लागेको भन्दै उनले भने,-‘यो महासंघको काम हो र ? आजकाल त मोवाइल फोन छ, इन्टरनेट छ म्यासेज पुर्याउन महासंघको अध्यक्ष नै चाहिँदैन नि ।’


पुष्प दुलाल