करोडौं झ्वाम पारेर कैलाश विकास बैंकका ब्राञ्च म्यानेजर यसरी गए अमेरिका



बैंक ठगेर फरार भए भनिएका रविचन्द्र खनाल र उनकी पत्नी लक्ष्मी खनाल (तस्बीरः फेसबुकबाट)

काठमाडौं । सर्वसाधारण र बैंकको करोडौं रकम झ्वाम पारेर फरार भएका कैलाश विकास बैंकका पोखरास्थित लामाचौर शाखाका शाखा प्रबन्धक (ब्राञ्च म्यानेजर) रविचन्द्र खनालले देश छाडेर भाग्न सफल भएका छन् ।

खनाल १४ तारिक अर्थात बैशाख १ गते नै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट जहाज चढेर विदेशतर्फ उडिसकेका छन् ।

बैशाख १ गतेदेखि नै बैंकको सम्पर्कमा थिएनन् ।  जबकी बैंकले ३ गते मात्रै ठगी गरेर उनी बेपत्ता भएको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) मा उजुरी गरेको थियो ।

अध्यागमन विभागले सीआइबीलाई खनाल बैशाख १ गते नै भित्रुवन बिमानस्थलबाट विदेशतर्फ लागेको जानकारी दिएको सीआइबीकी प्रवक्ता मिरा चौधरीले जानकारी दिइन् ।

‘अध्यागमनले दिएको जानकारी अनुसार बैंक गठेर फरार भएका भनिएका खनाल बैशाख १ गते नै विदेश गइसकेका छन्,’ चौधरीले क्लिकमाण्डूसँग भनिन्,– ‘कुन फ्लाइटबाट कुन देश गए भन्ने अझै पत्ता लागिसकेको छैन ।’

खनाल काठमाडौंबाट भारत गएको र भारतबाट अमेरिका गएको हुनसक्ने आशंका गरिएको छ ।

खनालसँग अमेरिकाको ५ वर्षे भिजा थियो । २ वर्षअघि मात्रै लाइन्स क्लब गोल्डेन फोखराको तर्फबाट उनी अमेरिकामा भएको कार्यक्रममा सहभागि पनि भएका थिए । अमेरिकाबाट फर्किएपछि उनी लाइन्स क्लबमा समेत निष्क्रीय छन् ।

प्रहरीले इन्टरपोलमार्फत उनलाई पक्राउ गर्ने डीएसपी चौधरीले जानकारी दिइन् ।

‘केहीदिन अघिदेखि उसले (रविचन्द्र)ले टिक खोजिरहेको थियो,’ खनालका एक साइक्लिङ पार्टनरले क्लिकमाण्डूसँग भने,- ‘अमेरिका जान्छु भन्दै थियो ।’

कति ठगे ?

चैत मसान्तको दिन साँझ साढे ७ बजेसम्म कार्यालयमा बसेर काम गरेका खनाल त्यसपछि भने फरार भएका थिए । बैंकबाट १ करोड ८० लाख, सर्वसाधारणसँग ४/५ करोड र सरकारीबाट २ करोडको हाराहारीमा पैसा लिएर खनाल फरार भएका हुन् ।

खनाललाई पैसा सापट दिने आधा दर्जन पीडितहरु बुधबार बिहानैदेखि पोखरास्थित खनालको घर घेरेर बसेका छन् । उनीहरुले बुधबार साँझसम्म प्रहरीमा उजुरी दिने तयारी गरिरहेका छन् ।

बैंकले भने बैशाख ३ गते नै सीइआइबीमा उजुरी गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले जानकारी दिए । साथै ३ गते नै बैंकको हेड अपिस काठमाडौंबाट गभएको अडिट टोलीले शाखाको अडिट गरिरहेको छ ।

यसरी पत्ता लाग्यो ठगी

बैंक स्रोतका अनुसार खनालले कर्मचारीलाई फलानो मान्छे यति बजे यति नम्बरको चेक लिएर आउँछ, अहिले मलाई पैसा देउ भनेर बैंकबाट पैसा लिएको पाइएको छ । तर, पछि चेक लिएर कोही पनि नआएपछि कर्मचारीले खनालमाथि शंका गरेका थिए । त्यसपछि उनी पनि अपिस आएनन् ।

खनालको यस्तो हर्कत बैंकका कर्मचारीले हेड अपिसमा रिपोर्टिङ गरे । हेड अपिसले तत्कालै बुझ्दा उनी रकम अनियमितता गरि फरार भएको पत्ता लाग्यो । र, प्रहरीलाई उजुरी गर्यो ।
कतिपयले निक्षेपका लागि दिएको चेक ग्राहकको खातामा जम्मा नगरी आफैंले चलाएको पनि पाइएकोछ ।

मिटर व्याज कारोबारले अपराधी बनायो

खनाललाई नजिकबाट चिन्नेहरु उनी झट्ट हेर्दा फटाहा टाइपको मान्छे नभएको बताउँछन् । म्यानेजरको रुपमा उनको प्रफरमेनस राम्रै थियो ।

‘उनी म्यानेजर भएपछि लामाचौर शाखाले उल्लेख्य मात्रामा निक्षेप संकलन र कर्जा प्रवाह गरेको थियो, यस हिसाबमा उनको प्रफरमेन्स निकै राम्रो थियो,’ बैंक स्रोतले भन्यो,- ‘उनी माछा–मासु खाँदैन थिए भने हल्कामात्रै मद्यपान गर्थे ।’

तर, उनी पहिलेदेखि नै सेयर, घरजग्गा कारोबार गर्थे । त्यतिमात्रै होइन मोटो रकम महंगो अर्थात मिटर व्याजमा लगाउँथे ।

‘घरजग्गामा भएको लगानी स्थिर रहेको, सेयर बजार घटेको र मिटर व्याजमा लगाएर रकम पनि डुबेपछि बैंक र सर्वसाधारणको करोडौं ठगेर फरार भएको देखिन्छ,’ खनाल निकट स्रोतले भन्यो ।

स्रोतका अनुसार बैंकमा निक्षेप जम्मा गर्न आउनेहरुलाई पनि महंगो ब्याजमा लगाइदिन्छु भन्दै व्यक्तिगतरुपमा पैसा लिन्थे ।

‘हेर्दा भलादमी देखिन्थे, बैंकको म्यानेजरजस्तो मान्छेले भनेपछि मैले पनि ४० लाख रुपैयाँ दिएको थिएँ,’ एक पीडितले भने,- ‘यस्तो होला भन्ने त सोचेको पनि थिइँन ।’

खनाललाई नजिकबाट चिन्नेहरुका अनुसार यसरी व्यक्तिसँग लिएको पैसा केही दिनका लागि अत्यन्तै महंगो ब्याजमा लगाउँथे ।

‘कसैलाई १ करोड रुपैयाँ सापट दिएर एक वा दुई दिनमै १०/१५ लाख व्याज लिन्थे,’ स्रोतले भन्यो ।

श्रीमतीका नाममा सहकारीमा बचत

स्रोतहरुका अनुसार धेरैवटा सहकारीमा श्रीमती लक्ष्मी देवकोटा खनालको नाममा पैसा राखिएको छ । श्रीमान-श्रीमतीको समझदारीमा विभिन्न ठाउँमा जग्गा गरिद गरेको र विभिन्न कम्पनीको सेयर खरिद गरेको प्रारम्भिक अध्ययनबाट देखिएको प्रहरीले जनाएको छ ।

को हुन् खनाल ?

तनहुँ स्थानी घर भएका खनाल सानैदेखि पोखरा बस्दै आएका छन् । उनका बुबा रिटायर्ड टिचर हुन् भने श्रीमती लक्ष्मी पोखराकै फेवा विकास बैंकको मानव संसाधन विभागको प्रमुख हुन् । करोडौं रकम ठगेर श्रीमान फरार भएपछि लक्ष्मी पनि सम्पर्कबिहीन भएकी छन् । स्रोतका अनुसार लक्ष्मीले भने अहिलेसम्म देश छाडेकी छैनन् ।

३७ वर्षका खनालले ०६४ सालमा कास्की फाइनान्सबाट बैंकिङ करियर सुरु गरेका थिए ।

कास्की फाइनान्स पछि उनले स्टान्डर्ड फाइनान्समा काम गरे । स्टान्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकसँग मर्ज भएपछि बैंकले खनाललाई मुस्ताङको जोमसोम शाखामा खटायो । जोमसोम जान अटेर गर्दै उनले माछापुच्छ्रेको जागिर छोडिदिए । त्यसपछि नेपाल एक्सप्रेस फाइनान्समा काम गर्न थाले । पछि नेपाल एक्सप्रेस मर्ज भएर कैलाश विकास बैंकसँग भयो । सुरुमा उनी कैलाशको पोखरास्थित सभागृह चोकमा काम गर्थे । लामाचौर शाखामा म्यानेजर खाली भएपछि बैंकले खनाललाई करिब ६ महिना अघि सो शाखाको म्यानेजर नियुक्ति गरेको थियो ।

घरजग्गा रोक्का

बैंकका सीइओ लामिछानेका अनुसार खनालसँग ३/४ करोड रुपैयाँ पर्ने घर-जग्गा भएको बैंकले उनको सबै समपत्ति रोक्का गरिसकेको जानकारी दिए ।

‘उनले बैंकलाई पुर्याएको आर्थिक नोक्सानी त्यही घरजग्गा बेचेर असूल गर्छौं,’ उनले भने ।

बैंकले हिनामिना भएको पैसा फिर्ता गर्यो

सिस्टममा देखिएकोबाट खनालले अनियमितता गरेको एक करोड रुपैयाँ भन्दा बढी रकम बैंकले ग्राहकको खातामा जम्मा गरिसकेको सीइओ लामिछानेले जानकारी दिए ।

‘ग्राहकको हिनामिना भएको १ करोड रुपैयाँभन्दा बढी रकम बुधबार हामीले ग्राहककै खातामा डिपोजिट गरिसकेका छौं,’ उनले भने,- ‘सिस्टममा देखिएको पैसा हिनामिना भएको भए पनि बैंक जवाफदेही हुन्छ ।’

के भन्छ प्रहरी ?

बैंकले करोडौ ठगेर खनाल बेपत्ता भएको उजुरी दिएको र सीआइबीले खोजिरहेको सीआइबीकी प्रवक्ता मिरा चौधरीले जानकारी दिइन् ।

‘हामीले सबैतिर पत्रचार गरिसकेका छौं, हाम्रो विशेष टोलीले खनाललाई खोजिरहेको छ,’ चौधरीले भनिन् ।


पुष्प दुलाल