‘अटो लोन’को सीमा बढाउने राष्ट्र बैंकको तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले अटो लोनमा गरेको कडाई केही खुकुलो बनाउने तयारी थालेको छ । आर्थिक वर्ष ०७४/७५ को मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले यसअघि गरेको मूल्यको ५० प्रतिशतमात्रै अटो लोन दिन पाइने व्यवस्थालाई केही खुकुलो बनाउन लागेको हो ।

राष्ट्र बैंकले गरेको कडाईका कारण अटो व्यवसाय धरापमा परेको भन्ने व्यवसायीहरुको गुनासोलाई सम्बोधन गर्न राष्ट्र बैंकका अधिकारीहरु अटो लोनलाई खुकुलो बनाउन सकरात्मक भएका हुन् ।

‘अटो लोनमा गरिएको कडाई केही खुकुलो बनाउन हामी सकरात्मक छौं,’ राष्ट्र बैंकको उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

स्रोतका अनुसार मूल्यको ५० प्रतिशत मात्रै ऋण दिन पाउने व्यवस्थालाई बढाएर ६० प्रतिशत बनाउने तयारी भइरहेको छ ।

गत फागुन १० गते चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले निजी सबारीमा दिइने अटो कर्जाको सीमा घटाएर मूल्यको ५० प्रतिशतसम्म मात्रै ऋण दिन पाइने व्यवस्था गरेको थियो ।

त्यसअघि बैंक तथा वित्तीय संस्थाहरुले सबारीसाधनको मूल्यको ९० प्रतिशतसम्म कर्जा दिदै आएका थिए ।

राष्ट्र बैंकले अटो कर्जाको सीमा घटाइदिए पछि अटोमोबाइल्सको ब्यापार खस्किएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

‘राष्ट्र बैंकको कडाईसँगै गाडीको ब्यापार ठप्प भएको छ, जसले सरकारको अर्बौ रकम बराबरको राजस्व पनि गुमेको छ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘त्यसैले हामीले राष्ट्र बैंकलाई मूल्यको अधिकतम ७० प्रतिशतसम्म ऋण दिन मिल्ने व्यवस्था मिलाइदिन आग्रह गरिसकेका छौं । उहाँहरु सकरात्मक हुनुहुन्छ ।’

तर, राष्ट्र बैंक र अर्थ मन्त्रालयका केही अधिकारीहरु भने अटो लोनमा गरिएको कडाई खुकुलो पार्न नहुने पक्षमा छन् ।

‘अटो लोनको सीमा खुकुलो बनाउँदा गाडी आयात बढ्छ जसले राष्ट्रको ढुकुटीमा जम्मा भएको अर्बौं रकम विदेशी मुद्रा विदेशमा पुर्याउँछ, त्यसैले अझै कडाई गर्ने वा अहिले कायम भएको सीमालाई नै निरन्तरता दिने भन्ने विषयमा पनि छलफ भइरहेको छ, बढाउने, घटाउने वा अहिलेकै सीमालाई निरन्तरता दिने भन्ने विषयमा सञ्चालक समितिले निर्णय गर्छ,’ राष्ट्र बैंक स्रोत भन्छ ।

राष्ट्र बैंकले यही असार तेस्रो साताभित्र आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजानिक गर्ने जनाएको छ ।


पुष्प दुलाल