सिल्भर हेरिटेजले राष्ट्र बैंकबाट पायो ३ अर्ब विदेशी लगानी भित्र्याउने अनुमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनादेखि रोकेको सिल्भर हेरिटेजको ३ अर्ब ५ करोड रुपैयाँ लगानी भित्राउन स्वीकृति दिएको छ ।

हेरिटेज ग्रुपले रुपन्देहीको कोटीहवामा टाइगर प्यालेस नामको ५ तारे होटल निर्माण गरिरहेको छ ।

हङकङको सिल्भर हेरिटेज ग्रुपले नेपालमा पाँचतारे होटल खोल्नको लागि सो रकम भित्राएको थियो । राष्ट्र बैंकले आवश्यक पर्ने डकुमेन्ट पुरा नभएको कारण ६ महिनादेखि रोकेर राखेको थियो ।

राष्ट्र बैंकका विदेशी विनियम विभागका प्रमुख भीष्म ढुंगानाले कम्पनीले आवश्यक पर्ने डकुमेन्ट पेश गरेको हुँदा पैसा रिलिज गरेको जानकारी दिए ।

‘कम्पनीले पेश गर्नुपर्ने केही कानूनी कुरा पेश गरेको थिएन,’ उनले भने, ‘डकुमेन्ट पेश गरेपछि राष्ट्र बैंकले रकम रिजिल गर्यो ।’

हङकङमा केन्द्रीय कार्यालय रहेको सिल्भर हेरिटेज क्यासिनो र होटलको क्षेत्रमा कम्पनी हो ।

कम्पनीले रुपन्देहीमा बनाइएको ५ तारे होटलको स्केच

नेपालमा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिको नाममा दर्ता भएको कम्पनीले रुपन्देहीमा ५ तारे होटल निर्माण गर्दैछ ।

क्यासिनो सहित ५ तारे होटल निर्माणको काम सकिएको छ । कम्पनीले झापामा पनि होटल निर्माण गर्दै छ ।

‘विदेशबाट आएको लगानी रोकिएको कारण हामीले टार्गेटमा रुपन्देहीमा होटल खोल्न सकेका थिएनौं,’ सिल्भर हेरिटेज स्रोतले क्लिकमाण्डुसँग भन्यो, ‘झापामा पनि काम सुरु हुन्छ ।’

सिल्भर हेरिटेजले रुपन्देहीको कोटिहवामा १५ बिघाह क्षेत्रफलमा ५ तारे होटल निर्माण गर्दैछ । भारतबाट क्यासिनो खेल्न आउनेलाई लक्षित गरेर होटल निर्माण भइरहेको छ ।

कम्पनीले रुपन्देहीमा निर्माण गरेको होटल यो वर्षदेखि संचालनमा ल्याउने लक्ष्य राखेपनि राष्ट्र बैंकबाट पैसा रिलिज नहुँदा ढिलाई भएको थियो ।

राष्ट्र बैंकबाट पैसा रिलिज भएपछि अब बढीमा ६ महिनाभित्रमा रुपन्देहीको होटल संचालनमा आउने कम्पनी निकट स्रोतले जानकारी दियो ।

कम्पनीले झापामा टाइगर प्लालेस रिसोर्ट संचालन गर्ने जनाएको छ । अहिले कम्पनीले होटल सांग्रिलामा क्यासिनो संचालन गर्दै आउको छ ।

विदेशी मुद्रामा लगानी भित्राउँदा र लाभांश लैजादा राष्ट्र बैंकको स्वीकृति चाहिने गर्छ ।  सन् २००३ मा स्थापना भएको ग्रुप पब्लिक लिमिटेड कम्पनी हो ।

 


क्लिकमान्डु