प्रचण्डको मानमर्दन हैन, चप्पल लाएर आएका आफ्नै नेताले कसरी महल बनाए ? त्यो खोज्नुस्



काठमाडौं । ऐमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई दिन भन्दै सर्वसाधारणसँग १ रुपैयाँका दरले चन्दा उठायो ।

प्रधानमन्त्रीले झुटो सम्पत्ति विवरण संघले सार्वजानिक गरेको भन्दै बानेश्वर चोकमा भेला भएर युवा संघका कार्यकर्ताले प्रतिव्यक्ति १ रुपैयाँका दरले चन्दा संकलन गरेका हुन् ।

‘प्रधानमन्त्रीले सार्वजानिक गर्नु भएको सम्पत्ति विवरणअनुसार उहाँ विश्वकै गरिब प्रधानमन्त्री देखिनुभएको छ, त्यसैले गरिब प्रधानमन्त्रीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले सर्वसाधारणसँग प्रतिव्यक्ति १ रुपैयाँ चन्दा उठाइएको हो,’ युवा संघका प्रवक्ता प्रभाव कटुवालले क्लिकमाण्डूसँग भने ।

यसरी उठाएको रकम प्रधानमन्त्रीलाई भेटेर बुझाउने उनले सुनाए । प्रचण्डले आफुसँग सम्पत्तिका नाममा ३ तोला सुन र चितवनमा १ कठ्ठा जमिन मात्रै भएको सम्पत्ति विवरण सार्वजानिक गरेका थिए ।

तर, युवा संघले त्यसरी उठाएको रकम प्रधानमन्त्रीले नलिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । उनले एमाले नेतृत्वको निर्देशनमा युवा संघका कार्यकर्ताले नियोजितरुपमा प्रधानमन्त्रीको बेइज्जत गर्न लागि परेको भन्दै आक्रोस व्यक्त गरे ।

‘प्रधानमन्त्रीले भनिसक्नु भएको छ कि कसैले यो भन्दा बढी सम्पत्ति फेला पारेर लैजाओस्,’ उनले भने, ‘हिँजो चप्पल पड्काउँदै शहर छिरेका एमाले नेताहरुको अहिले काठमाडौंमा अलिशान बंगला छ । त्यही खोज्नुस् ।’

‘युवा संघले उठाएको पैसा प्रधानमन्त्रीले किन लिने ?’ आचार्यले क्लिकमाण्डूसँग भने, ‘त्यसरी जम्मा भएको रकम एआलेकै नेताहरुलाई दिए भैहाल्लो नि ।’

एमालेले आफूले राम्रो काम पनि नगरेको र अरुले राम्रो काम गरेपनि नियोजतरुपमा बेइज्जत गर्न लागि परेको उनको भनाई छ ।

‘ओलीजीले ९ महिना प्रधानमन्त्री हुँदा केही पनि काम गर्न सक्नुभएन । तर अहिले प्रचण्डका पालामा लोडसेडिङको अन्त्य भयो । विकास आयोजनाहरुले गति लिए । पुनर्निमाणको काम तीब गतिमा अघि बढिहेको छ, जसले एमालेलाई जलाएको छ,’ आचार्यले भने ।

प्रचण्डको सम्पत्ति हिँजो र आज बराबर रहेको आचार्यको दाबी छ । पहिलोपटक प्धानमन्त्री हुँदा पनि प्रचण्डले यतिनै सम्पत्ति विवरण बुझाएको उनले स्मरण गरे ।

‘प्रधानमन्त्रीले भनिसक्नु भएको छ कि कसैले यो भन्दा बढी सम्पत्ति फेला पारेर लैजाओस्,’ उनले भने, ‘हिँजो चप्पल पड्काउँदै शहर छिरेका एमाले नेताहरुको अहिले काठमाडौंमा अलिशान बंगला छ । त्यही खोज्नुस् ।’

यो पनि पढ्नुहोस्- युवा संघको अभियानः विश्वकै गरिब प्रधानमन्त्री प्रचण्डलाई १ रुपैयाँ चन्दा दिनुस्


पुष्प दुलाल